‘क्लिन काष्ठमण्डप’ अभियान एक वर्षमा

‘क्लिन काष्ठमण्डप’ अभियान एक वर्षमा


काठमाडौं । उपत्यकाका विभिन्न स्थान सफाइ गर्दै आएको ‘क्लिन काष्ठमण्डप’ अभियानले एक वर्ष पूरा गरेको छ । एकवर्ष पूरा गरेका अवसरमा अभियानले ललितपुरको लगनखेल–मङ्गलबजार–सातदोबाटो क्षेत्रमा जनचेतनामूलक अभियानसहित सरसफाइ गरेको छ ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगर क्षेत्रमा जथाभावी फोहर फाल्नेलाई जरिवानासहित कारवाही गर्ने कानूनी व्यवस्था कार्यान्वयन गर्न लागिएको जानकारी दिए ।

युवालाई फोहर नफाल्न जनचेतना जगाउने उद्देश्यले शुरु भएको अभियानलाई महानगरले साथ दिने उनको प्रतिबद्धता थियो । ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले फोहर फाल्ने चेतना नभए जतिसुकै विद्वान भए पनि अर्थ नहुने बताए ।

एक वर्षअघि राजधानी काठमाडौँ उपत्यकालाई ‘डम्पिङ साइट’ बनाइनु हुन्न भन्ने उद्देश्यले अभियान शुरु गरिएको अभियानकर्मी केपी खनालले बताए ।

उपत्यकाका विभिन्न स्थानमा सङ्कलन भएको प्लाष्टिकलगायत फोहरबाट मोहरमा रूपान्तरण गरी जम्मा पारिएको रु ५० लाखबाट बाजुरामा अनाथाश्रम बनाउन लागिएको जानकारी उनले बताए ।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पतञ्जलि योग समिति, मानवसेवा आश्रम, रेयुकाई नेपाल, विभिन्न क्याम्पस एवं विद्यालयका विद्यार्थी र सर्वसाधारण गरी ४०० बढी अभियानकर्मीको सहभागिता थियो । रासस

Logo