नुवाकोटको त्रिशुली बजारबाट वेत्रावती हुंदै रसुवाको धुन्चे तथा स्याफ्रुवेसी जाने पासाङ्गल्हामु राजमार्गको गेर्खु खण्ड कालोपत्रे भएको थोरै समय मात्रै भएको छ । "/>

एउटा अनाैठाे घरकाे कथा

एउटा अनाैठाे घरकाे कथा


नुवाकोटको त्रिशुली बजारबाट वेत्रावती हुंदै रसुवाको धुन्चे तथा स्याफ्रुवेसी जाने पासाङ्गल्हामु राजमार्गको गेर्खु खण्ड कालोपत्रे भएको थोरै समय मात्रै भएको छ । अलि साँघुरो भए पनि कालोपत्रे भएकाले त्यस मार्ग भएर गुड्ने सवारी साधनहरुको गति अलि बढी नै हुने भए पनि साविकको गेर्खु गाविस–४ भैंसेमा पुगेपछि अधिकांश सवारी साधनहरुले घ्याच्च ब्रेक लगाउँछन् । ब्रेक लगाउनुपर्ने कारण यात्रीहरु चढ्ने र ओर्लने तथा अन्य आकस्मिक कामका लागि हुनुपर्ने हो, तर त्यहाँ पुगेका सवारीसाधनहरुमा लागेको ब्रेक सम्बन्धित कामका लागि थोरै भएपनि कारण अर्कै छ । कारण हो, सडक छेवैमा रहेको वरपीपल घर ।

वर र पीपल रुखहरुको वीचमा अति आर्कषक ढंगले निर्माण गरिएको यो घर टाढाबाट पुगेकाहरु निकै चाखलाग्दो तरिकाले अवलोकन गर्छन् र रहस्यमय ठान्दै आफ्नो गन्तव्यतिर लाग्छन् । यी रुखहरु र उक्त घर त्यस ठाउँको इतिहास सँग जोडिएकाले होला यिनीहरुलाई जोगाइएको छ । भत्काइएको छैन, वर्षौंदेखि । स्थानीय रामचन्द्र निमाविका शिक्षक लेखनाथ रिजाल यो घर कसले र कहिले बनायो आफूलाई खासै थाहा नभएको बताउँछन् । उनले सुने अनुसार धेरै समय पहिले यहाँ ठूलो चौतारो थियो । रसुवाको धुन्चे , गोसाईंथान, रसुवागढी, तथा तिव्बत आवतजावत गर्नेहरु यस चौतारोमा घण्टौंसम्म थकाई मार्थे । पछि बटुवाहरुको सजिलोका लागि यहाँ सानो पाटी बनाइयो । त्यस पाटीमा राणाकालमा हुलाकीहरु चिठी बोकेर राजधानी तथा तिव्बत आवतजावत गर्दा रात परेको वेलामा वास बस्थे ।

केही समयपछि उक्त पाटी भत्कियो । एक स्थानीय महिलाले अहिले भएको यो घर निर्माण गरिन् । उनका श्रीमान्–श्रीमती मिलेर बाटो छेउ भएकाले यहाँ सानो पसल संचालन गरे । केही समय पहिले श्रीमतीको मृत्युपछि उनका ८८ वर्षिय श्रीमान् ललितमान तामाङ्ग अहिलेसम्म उक्त घर कुरेर वसिरहेका छन् । उक्त घर निर्माण गरिएको जग्गा आफ्नै आमाको नाउँमा भएपनि आफूले ललितमानका लागि उनी बाँचुञ्जेल बस्ने गरि जिम्मा दिईएको र पछि सामाजिक कामका लागि प्रयोग गर्ने सोचाई रहेको शिक्षक रिजाल बताउँछन् ।

वर र पीपललाई हिन्दु धर्ममा पवित्र रुखका रुपमा पूजा गर्ने चलन भए पनि यसरी रुखका फेदैमा घर बनाउँदा चट्याङ्ग तथा अन्य प्राकृतिक विपतिको डर हुने मान्यता छ । तर वर्षाैंदेखि यहाँ कुनै संकट आएको छैन । आफ्नी श्रीमतीको सम्झनामा घर छोड्न नसकेका ललितमान भन्छन्– ‘शितल र आनन्दका लागि बाँचुञ्जेल यहि घरमै बस्ने सोचाई छ । ’ शायद वीरलै मात्र देखिने यस्तो प्रकारको घरको बारेमा अनौंठो भएपनि अहिलेसम्म त्यहाँ पुग्नेहरुले फोटो खिच्ने र राम्रो रहेछ भन्ने गरेको भन्दा बाहेक अन्य खोजीनिती नगरेको उनी बताउँछन् । पहिले चौतारो मात्र रहेको यस ठाउँ वरिपरि पछिल्ला दिनहरुमा केही घरहरुको निर्माणपछि अहिले केहि चहल–पहल देखिने गरेको छ ।

यसमा भने आफू खुशी नै भएको बताउने ललितमान चौतारो, रुख तथा उक्त घर संरक्षणका लागि वडा कार्यालयले केही सहयोग गरिदिए पुरानो संरचना पछिसम्म जोगाउन सकिनेमा विश्वस्त छन् । अहिलेसम्म यसबारेमा कसैले पनि सोच्न नसके पनि आफू अबका दिनमा यसको संरक्षणका लागि पहल गर्न लागि पर्ने शिक्षक लेखनाथले बताएका छन् ।

घर कुरेर बसेका ८८ वर्षिय ललितमान तामाङ्
घर कुरेर बसेका ८८ वर्षिय ललितमान तामाङ्

Logo