‘पनिकाले गर्दा मेरो र परिवारको खुसी खोसियो’

‘पनिकाले गर्दा मेरो र परिवारको खुसी खोसियो’


पनिकाको लापर्बाहीले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको भविष्य अन्यौल

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ९ असार ।

परीक्षा नियन्त्रण कार्यालयको लापर्बाहीका कारण उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको भविष्य अन्यौल बनेको छ ।

कार्यालयले असार २ गते सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा अर्थात एसईईको नतिजामा विषय परिवर्तन भएर नतिजा आएपछि कार्यालयमा सच्याउन आवेदन दिनेको भीड लागेको छ ।

भक्तपुरको कमलविनायकस्थित मनकामना इङ्लिस सेकेन्डरी स्कुलका विद्यार्थीले आफूले नपढेको र परीक्षा नदिएको विषयको नतिजा आएपछि उनीहरूको भविष्य अन्यौल बनेको हो ।

यस विद्यालयबाट एसईई परीक्षा दिएका सि नं ०२८४५६४ त् का सन्देश साङमी, सि।नं–०२८४५६५ ग् का सृष्टि शाक्य र सि।नं. ०२८४५६६ ख् का सीतारा तजलेको यस्तो नतिजा आएको विद्यालयका प्रिन्सिपल श्रीराम आचार्यले बताए ।

परीक्षा दिएको भन्दा फरक विषयको नतिजा आएपछि आफूले रोजेको कलेजमा छात्रवृत्तिमा विज्ञान विषय लिएर डाक्टर पढ्ने सपना चकनाचुर भएको विद्यार्थी साङमीले बताए ।

आर्थिक अवस्था कमजोर भएका साङामीको परिवार एसईईको नतिजा आएपछि निकै चिन्तामा परेको छ । उनी भन्छन्, “घरमा सबै चिन्तामा छन्, सधैँ कक्षामा प्रथम हँुदै आएकाले एसईईमा नतिजा पनि राम्रो आउँछ, डाक्टर बन्नुपर्छ भन्ने परिवारेको चाहना थियो, मेरो सपना र परिवारको खुसी खोसियो ।”

कक्षामा सधैँ प्रथम हुने साङामीलाई छात्रवृत्ति दिन्छु भन्ने कलेजले समेत अहिले त विज्ञान विषयमा भर्ना नै लिन नमानेपछि उनकोे भविष्य अन्यौल बनेको विद्यालयका प्रिन्सिपल श्रीराम आचार्य बताउँछन् ।

त्यस्तै, कक्षामा सधैँ दोस्रो हुने भक्तपुर भोलाछेकी सृष्टिको परिवार एसईईको नतिजा अपेक्षाकृत नभएपछि राम्रोसँग निदाउन समेत सकेका छैनन् । सृष्टिले ऐच्छिक गणितमा दिएको परीक्षाको नतिजा अर्थशास्त्रमा आएको र अन्य विषयमा समेत ‘ए’ प्लस आउने अपेक्षा गरिएकोमा ‘डी’ आएपछि सिङ्गो परिवार तनावमा रहेको उनले बताए ।

‘‘छोरीले आवेशमा आएर गलत निर्णय गर्ली भन्ने डरले परिवार राम्रोसँग निदाउन समेत नसकेको’┌ बताउँदै उनले विज्ञान विषय लिएर इन्जिनियर बन्ने चाहना पूरा नहुने भएपछि उच्च शिक्षा अध्ययनमासमेत अन्यौल भएको छ’’ भने ।

ऐच्छिक गणितमा परीक्षा दिए पनि ऐच्छिक अर्थशास्त्रको नतिजा आएपछि विज्ञान विषय पढ्ने चाहना अपूरो बनेको बताउँदै भक्तपुर कमलविनायककी सीताराले ‘ए’ प्लस आउँछ भनेको अन्य विषयमा समेत ‘सी’ प्लस आएपछि थप तनाव भएको बताइन् ।

सबैमा ‘ए’ प्लस आए पनि अङ्ग्रेजीमा ‘डी’ प्लस नतिजा आएपछि चिन्तामा परेकी टीना मानन्धरले कार्यालयमा गएर पुनर्योगका लागि आवेदन दिएकी छिन् । यता मध्यपुर थिमि गठ्ठाघरमा रहेको भक्तपुर इङ्लिस स्कुलबाट एसईई परीक्षा दिएका ५१ जना विद्यार्थीको विज्ञान विषयको प्रयोगात्मक विषयको नम्बर घटाएर नतिजा सार्वजनिक गर्दा जिपिए नै घटेपछि पनिकाप्रति विद्यार्थी आक्रोशित बनेका छन् ।

विद्यालयले जिल्ला शिक्षा कार्यालयमार्फत सबै विद्यार्थीको विज्ञान विषयको प्रयोगात्मक परीक्षाको २५ नम्बर पठाए पनि नतिजा आउँदा भने २२ मात्रै कायम गरिएको छ । पाएको नम्बर पनि घटेर आउँदा ‘ए’ प्लस आउने विद्यार्थीको नतिजा ‘ए’ मात्रै आएको भन्दै विद्यार्थी आक्रोशित बनेको विद्यालयका प्रिन्सिपल श्रीनारायण यादवले बताए ।

विद्यार्थीले चाहेको विषय पढ्न नपाउने भएकाले कार्यालयको लापर्बाहीले विद्यार्थीको भविष्य नै अन्यौल बनेको उनको भनाइ थियो ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले “परीक्षाफल प्रकाशितका क्रममा कतिपय विद्यार्थी र कतिपय सिस्टमका कारण त्रुटि आउने जिकिर गर्दै कार्यालयले यसलाई सच्याउने’’ बताए ।”

एउटा विषयमा परीक्षा दिएर अर्को विषयमा नतिजा आएको हकमा विद्यार्थीले कार्यालयमा सम्पर्क गरेर जानकारी गराए केही दिनभित्रै सच्याएर पठाउने र नम्बर नपुगेको हकमा भने रु ५०० बुझाएर पुनर्योग निवेदन दिनुपर्ने उनले बताएको राससले उल्लेख गरेको छ ।

Logo