के के सहमति भयाे, निगम र व्यवसायीबीच ?

के के सहमति भयाे, निगम र व्यवसायीबीच ?


पेट्रोलियम व्यवसायीले आन्दोलनका सबै कार्यक्रम फिर्ता गरेपछि आजबाट पेट्रोल र डिजेल लगायत इन्धनको वितरण सहज हुने भएको छ । शुक्रबार शनिबार काठमाडौंका केही पेट्रोल पम्प बन्द हुँदा पम्पहरुमा ग्राहकको भिड लागेको थियो । माग पुरा नभए आज (आइतबार)बाट सबै पम्पहरु बन्द गर्ने चेतावनी पछि शनिबार साँझ व्यवसायी र निगमबीच व्यवसायीको माग सम्बोधन गर्ने सहमति भएको हो । 

गत चैत ६ गतेदेखि ग्यासको पिडिओ खरिद बन्द गर्नेदेखि इन्धन लोडअनलोड बन्द गरेका उनीहरुले आयल निगमसँग शनिबार चार बुँदे सहमति गर्दै आन्दोलन फिर्ता लिएका हुन् । इन्धनको लोडअनलोड नै बन्द गरेका उनिहरुले माग पुरा नभए आज (आइतबार)देखी पम्पहरु पनि बन्द गर्ने चेतावनी दिएका थिए । शनिबार पनि केही पम्पहरु बन्द हुँदा खुलेका पम्पहरुमा लामो लाइन लागेको थियो । सहमतिसंगै आजबाट सबै पम्पहरु खेल्ने भएपछि आजबाट पेट्रोलियम पदार्थ वितरणमा सहज हुने भएको हो । 

व्यवसायीको मागको सन्दर्भमा ७ दिनभित्र उचित निष्कर्ष निकाल्नेगरी सहमति भएको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जानकारी दिए । पेट्रोलियम बिक्रेता कमिसन र ढुवानी भाडा समायोजनसम्बन्धी मागको हकमा ७ दिनभित्र र इन्धनको कारोबारसम्बन्धी मागको सम्बन्धमा जेठ १५ सम्मको सक्नेगरी सहमति भयो,’ उनले भने, सहमतिसँगै विरोधका कार्यक्रमहरु शनिबार साँझैबाट स्थगन गरी इन्धन कारोबार यथावत् राख्ने निर्णय भएको हो । 

बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै एलपी ग्यास उद्योग संघ, पेट्रोलियम डिलर्स एशोसिएशन र पेट्रोलियम ढुवानी व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए ।

यातायात क्षेत्रमा जसरी इन्धन ढुवानीमा समेत वैज्ञानिक भाडा लागू गर्नुपर्ने भन्दै एलपी ग्यास तथा पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीले राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति बनाएर आन्दोलन गरिरहेका थिए । 

रुसले युक्रेनमा गरेको आक्रमणका कारण कच्चा तेलको मूल्य अचाक्ली बढेपछि निगमले पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन बढाएको छैन । 

 

Logo