चुनावी मत परिणामप्रति असन्तुष्ट दल आन्तरिक छलफलमा

चुनावी मत परिणामप्रति असन्तुष्ट दल आन्तरिक छलफलमा


स्थानीय तह निर्वाचनप्रति पाँच दलीय गठबन्धनभित्रै असन्तुष्टि व्यक्त हुन थालेको छ । स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेको बेला संयुक्त रूपमा चुनावमा होमिएका दलहरूले असन्तुष्टि व्यक्त गर्न गालेका हुन् । 

मत परिणामअनुसार नेपाली कांग्रेस सबैभन्दा बढी सिट जितेर पहिलो स्थानमा उभिएको छ । यसले अग्रतामा पनि पहिलो नम्बरमै छ । त्यस्तै दोस्रोमा रहेका नेकपा एमालेले पनि चुनावमा धाँधली भइरहेको भन्दै सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै आएको छ । 

अहिलेसम्म ७२ पालिका जितेर तेस्रो नम्बरमा रहेका नेकपा माओवादी केन्द्र भने मत परिणामबाट सन्तुष्ट नै देखिएको छ । पाँच दलीय गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाले असन्तुष्टि व्यक्त गर्दै आएको हो । 

उनीहरूले गठबन्धनको समीक्षा हुनुपर्ने र यसको फाइदा नेपाली कांग्रेस र माओवादी केन्द्रले मात्र लिएको आरोप लगाइरहेका छन् । अहिलेसम्म सार्वजनिक भएको मत परिणाम अनुसार नेकपा एकीकृत समाजवादीले चार पालिका जितेको छ । ती मध्ये दुई पालिकामा यसअघि नै निर्विरोध निर्वाचित भएको थियो । समाजवादी ५९ पालिकाको प्रमुख पदमा अग्रता लिइरहेको छ । 

त्यस्तै जनता समाजवादी पार्टीले अहिलेसम्म तीन पालिकाको प्रमुख जितेको छ । भने २९ पालिकामा अग्रता लिइरहेको छ । जनमोर्चाले भने पालिकामा खाता नै खोल्न सकेको छैन ।

जबकि नेपाली कांग्रेसले १४७ पालिका प्रमुख जितेर अग्र स्थानमा छ । अझै १६२ पालिकामा कांग्रेसले अग्रता लिइरहेको छ । ७२ पालिका जितेको माओवादीले ४७ पालिकामा अग्रता लिइरहेको छ । 

यसरी गठबन्धनका कारण नेपाली कांग्रेस र माओवादी केन्द्रले मात्र फाइदा लिएको भन्दै अन्य दलले असन्तुष्टि व्यक्त गर्न थालेका हुन् । नेकपा एकीकृत समाजवादीका नेताहरूले चरम असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यस विषयमा पार्टीभित्र समीक्षा गर्ने बताएका छन् । मंगलबार २९औं मदन–आश्रित स्मृति दिवसको अवसरमा समाजवादीले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको विषयमा समीक्षा गरिने बताएका हुन् । 

स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पार्टीले प्राप्त गर्नुपर्ने जति नभएको बताए । उनले पार्टीले अपेक्षा गरे अनुसार मत परिणाम नआएको भन्दै गठबन्धनका घटकले नै आफूहरूसँग सहकार्य गर्न नचाहेको बताए । 

‘हामी निर्वाचनको गम्भीर समीक्षा गर्नेछौं । गठबन्धनको पनि समीक्षा हामी गर्नेछौ,’ अध्यक्ष नेपालले भने, ‘समीक्षा गरेर कहाँ राम्रो भयो, कहाँ त्रुटि गर्‍यौं र आगामी दिनमा हामीले के कुरामा होस गर्नुपर्ने हो । त्यस हुनाले हामीले अहिलेसम्मको निर्वाचनको परिणाम अवश्य पनि हाम्रो पार्टीले प्राप्त गर्नुपर्ने जति छैन होला ।’

त्यस्तै समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि चुनावी परिणाम सकारात्मक नबनेको बताए । गठबन्धनलाई निरन्तरता दिन विषयमा पार्टीका समीक्षा गरिने उनको भनाइ छ । मंगलबार संसद् बैठकबाट निस्किँदै पार्टीका खनालले भने, ‘अहिलेसम्म जेजस्तो परिणाम आएको छ, उत्साहजनक छैन । कसरी अगाडि जान्छ भनेर हामी छलफल गर्नेछौं ।’ 

त्यस्तै पार्टीका अर्का नेता जीवनराम श्रेष्ठले गठबन्धन आफ्नो पार्टीका लागि प्रभावकारी नबनेको प्रतिक्रिया दिए । अहिले नै निचोडमा पुग्ने अवस्था त नबनेको भन्दै पार्टीभित्र गम्भीर समीक्षा गरिने बताए । 

‘अहिले नै निचोडमा पुग्ने अवस्था त बनिसकेको छैन । तर, हाम्रो लागि गठबन्धन प्रभावकारी नभएको देखियो । सबै परिणाम आइसकेपछि समीक्षा गर्नेर्छौं ।’ उनले भने । 

जसपा संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले पनि गठबन्धनले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई मात्र फाइदा पुगेको बताए । प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष भट्टराईले स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीले सेटिङ गरेकाले उनीहरूले लाभ लिएको बताए । 

‘गठबन्धनमा कांग्रेस र माओवादीलाई सेटिङ गरेकाले केही लाभ लिए । तर, उनीहरूले पनि सोचेजस्तो लाभ लिन सकेनन् ।’ उनले भने । उनले आफू स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न नहुने पक्षमा रहेको बताए । स्थानीय स्तरको विषयमा स्थानीय तहमा बसेका नेता तथा कार्यकर्तालाई धेरै विषय थाहा हुने भएकाले केन्द्रबाट हस्तक्षेप नगरेको अवस्थामा अझ राम्रो परिणाम आउन सक्ने उनको भनाई थियो । 

उनले स्थानीय तह निर्वाचनमा धाँधली भएको बताए । नेपालको लोकतन्त्र हुर्कदै गरेको अवस्थामा रहेको भन्दै बच्चाले फोहोर गरेको जस्तो अलिअलि फोहोर भएको बताए । 

गठबन्धनप्रति नेकपा एमालेले पनि असन्तुष्टि जनाउँदै आएको छ । गठबन्धनका कारण आफ्नो पार्टी कमजोर बनेको एमालेको ठहर छ । राम्रो सम्भावना रहेको क्षेत्रमा पनि गठबन्धनका कारण हार्न पुगेको भन्दै एमालेले गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ ।

Logo