रहेनन् विश्‍वप्रसिद्ध फुटबलर डिएगो म्याराडोना

रहेनन् विश्‍वप्रसिद्ध फुटबलर डिएगो म्याराडोना


लण्डन ।

विश्‍वप्रसिद्ध फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । ६० वर्षको उमेरमा उनको बुधबार निधन भएको हो । केही समययता अस्वस्थ रहँदै आएका उनको झण्डै एक महिना अघि शल्यक्रिया गरिएको थियो ।

डेलीमेलले जनाए अनुसार हृदयघातका कारण उनको घरमै निधन भएको हो । उनी मस्तिष्क सम्बन्धी समस्यासँग जुधिरहेका थिए । तीन साता अघि मात्रै उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो । म्याराडोना विश्‍वभर चर्चित अर्जेन्टिनी फुटबल खेलाडी हुन् ।

चर्चित भए पनि उनी पटक पटक विवादित भएका थिए । लागूऔषध सेवन तथा दुर्व्यवहारका कारण उनी बारम्बार चर्चा र विवादमा आउने गरेका थिए ।

म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले सन् १९८६ को विश्‍वकप जितेको थियो । त्यसबेला विश्‍व फुटबलमा दबदबा कायम गरेको इङ्ल्याण्डलाई अर्जेन्टिनाले हराएको थियो । प्रमुख कुरा त के थियो भने इङ्ल्याण्डसँग अर्जेन्टिनाले युद्ध हारेको लगत्तै उक्त विश्वकप भएको थियो, जुन जितलाई म्याराडोनाले फकल्याण्ड टापु हार्दाको इङ्ल्याण्डसँग बदलाको रुपमा पनि अर्थ्याएका थिए । त्यसपछिका केही वर्षमा अर्जेन्टिनी फुटबलको उचाइ र प्रभाव बढ्नुमा म्याराडोनाको महत्वपूर्ण भूमिका मानिन्छ ।

पछिल्लो पटक सन् २०१० को विश्वकपमा पनि म्याराडोनाले राष्ट्रिय टीमको व्यवस्थापन गर्ने अवसर पाएका थिए । १९९९ र २००० मा पनि उनी मुटु सम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका थिए ।

Logo