सुन्दर सुदूर भविष्य निर्माणमा मंसिर ४ शुभ दिन बनोस् !

सुन्दर सुदूर भविष्य निर्माणमा मंसिर ४ शुभ दिन बनोस् !


जनमतबाट चुनिने संसदको पञ्चवर्षीय लेखाजोखा र त्यसको जन-अडिटको मिति हो २०७९ मंसिर ४ गते । जनताले यसैदिन आफूलाई उपयुक्त लाग्ने पात्रलाई अनुमोदन गर्नेछन् । यसदिन आफ्ना अघिल्ला प्रतिनिधिले संसदीय फाँट र योसँग सम्बन्धित अरु क्षेत्रमा गरेका कामहरुको पनि निचोड निकाल्ने छन । दोहोरिन योग्य र इच्छुकलाई पुन सदर गर्नेछन् । मन जित्न नसकेकाहरुलाई खारेज गरिदिने छन् । नयाँ सम्भावनाहरुको खोजी गर्नुपर्ने अवस्था आए त्यसमा पनि उत्तिकै खुल्ला रहने छन् ।

मंसिर ४ खासमा एउटा उत्सव हो,देश र जनताको भविष्यको रुपरेखा कोर्ने एउटा महायज्ञ हो । यसको पवित्रतालाई कायमै राखीअघि बढाउने जिम्मेवारी जनताकै हो । बृहत् भेला,भलाकुसारी र जन-परामर्शबाटै यसको साङ्गे पनि गरिनुपर्छ । 

नेपालको संविधान २०७२ जारी भएपछि आम जनताले दोस्रो पटक पाउँदै गरेको ऐतिहासिक अवसर पनि हो यो दिन । यसमा नेपालको राजनीति र संसदीय इतिहासको पनि अध्ययन र समीक्षा गरिनुपर्छ । कुन कालखण्डमा के-के राम्रा र के-कस्ता नराम्रा काम भए यसबारेमा पनि मतदाताका रुपमा रहेका आमजनताले हेक्का राख्नुपर्छ । स्थायित्व र समृद्धिको चाहना राख्नेम जनताका इच्छापूर्तिका लागि यसअघि को-को सहयोगी रहे र को-को विरोधी रहे यसको पनि निष्पक्ष समीक्षा गरिनु पर्छ । 

पाँच वर्षे यात्रामा रहने संसदीय डुंगालाई बिचैमा प्वाल पार्ने र दुर्घटनामा प्रेरित गर्ने मुसा प्रवृत्तिप्रति पनि जनता जानकार हुनैपर्छ । विभिन्न चलखेल,खरिद-बिक्री,स्वेच्छाचारिता जस्ता विकृति विसंगतिको अन्त्यको लागि पनि मतदाताको सुझबुझ,सरसल्लाह र सहकार्य आवश्यक छ । अस्थिरताका कारकहरुको खोजी र तिनलाई दण्डित गर्नपनि यसदिनको भरपूर उपयोग गरिनुपर्छ । 

यसबीचमा विभिन्न पक्ष र शक्तिकेन्द्रले विभिन्न किसिमका प्रलोभन र प्रभाव पार्ने प्रयास गर्न सक्छन् । क्षणिक लाभ दिएर दीर्घकालीन हानी पुर्याउन खोज्नेछन् । यस्ता दवाव र प्रभावका कारण आफू र आफ्ना सन्ततिको भविष्य नै वर्वाद हुनेतर्फ जनता सचेत रहनु पर्नेछ ।

यसर्थ, सबै किसिमका विकृति र विसंगतिको अन्त्यका लागि योग्य उम्मेदवारको चयन गरी देश र जनताको सुन्दर सुदूर भविष्य निर्माणको लागि मंसिर-४ शुभ दिन बनोस् ।
 

Logo