शिक्षामन्त्री पौडेलले भने, ‘नेपालको शिक्षा नीतिमा देखिएका समस्याहरू समाधान गरी शिक्षण सिकाइ परिवर्तन गर्दै लैजानुपर्छ’

शिक्षामन्त्री पौडेलले भने, ‘नेपालको शिक्षा नीतिमा देखिएका समस्याहरू समाधान गरी शिक्षण सिकाइ परिवर्तन गर्दै लैजानुपर्छ’


शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालको शिक्षा प्रणालीमा सुधारको आवश्यकता औल्याएका छन् । 

शिक्षा मन्त्री पौडेलले मंगलबार आगामी १५ वर्षका लागि तयार गरिएको शिक्षाको संरचनापत्र–२०७९ सार्वजनिकिकरण कार्यक्रममा नेपालको शिक्षा प्रणालीमा देखिएका समस्यालाई समाधान गरी शिक्षण सिकाइमा सुधार गर्दै लैजाने बताएका हुन् । उनेले भने, “‘नेपालको शिक्षा नीतिमा देखिएका समस्याहरू समाधानयोग्य छन् । त्यसलाई समाधान गरी शिक्षण सिकाइ परिवर्तन गर्दै लैजानुपर्छ ।”

अब विश्वविद्यालयमा शिक्षणका लागि विश्वविद्यालय सेवा आयोग पास गर्नुपर्ने र विद्यालयमा पढाउन शिक्षक सेवा आयोग उत्तीर्ण अनिवार्य गर्न लागिएको पनि उनको भनाई छ । पछिल्लो १० वर्षमा  शिक्षण सिकाइमा ११ प्रतिशत सुधार आएको उनले बताए । शिक्षण पेसा अधिकार मात्र नभएर सेवाको रूपमा पनि सोच्नुपर्ने मन्त्री पौडेलले बताए । शिक्षा मन्त्रालयले भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य प्रगति भएको दाबी गरेको छ । 

दुई हजार ७०० वटा विद्यालयतर्फ एक हजार ३०० विद्यालयहरू बनिसकेको र बाँकी विद्यालयहरू तीन वर्षमा निर्माण गर्ने लक्ष्य रहेको उनले जानकारी गराए । शिक्षासम्बन्धी कतिपय ऐनहरू कानुन मन्त्रालयसहित अन्य निकायमा अड्किएकाले शिक्षासम्बन्धी नयाँ नियमहरू ल्याउन समस्या भएको उनले बताए । 

यस्तै, नेपालबाट धेरै विद्यार्थी उच्च शिक्षाका लागि बाहिरीमुलुक जानेक्रम अस्वाभाविक रूपमा बढेकाले मन्त्रालय यसको कारणको खोजीमा लागेको मन्त्री पौडेलको भनाइ छ । यस्तै उनले शिक्षाजस्तो पवित्र क्षेत्रमा बन्द, हडताल गर्नु सामाजिक अपराध भएको बताए ।

केही विद्यार्थी सङ्गठनहरू आफ्ना माग पूरा गराउन विश्वविद्यालय वा अन्य शैक्षिक संस्थामा पठनपाठन तथा दैनिक कामकारबाही नै प्रभावित हुनेगरी तालाबन्दी गरेकोप्रति उनले असन्तुष्टि जनाए । 

Logo