पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडीको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडीको मृत्यु


नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएको छ ।

आइतबार विहान साढे ११ बजे पोखरा १८ सराङकोटबाट उडेको प्याराग्लाइडिङ एक्कासी भुईंमा खसेको थियो । दुर्घटनामा नेपाल आर्मीका खेलाडी पोखरा -१० अस्पताल चोकका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएपछि उनलाई उपचारका लागि मेट्रोसिटी अस्पताल पु-याइएको थियो । उपचारकै क्रममा थापाको मृत्यु भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । खेलाडीको मृत्यु भएपछि राखेपले दुःख ब्यक्त गरेको छ ।

राखेप बोर्ड सदस्य अन्जन धमलाले खेलाडीको मृत्युले राखेप मर्माहत भएको बताए । ‘प्रतिस्पर्धाकै क्रममा खेलाडीको मृत्युले मर्माहत बनाएको छ । यो दुखद घटनाको दुख ब्यक्त गर्दछौं,’ उनले भने, ‘प्रतिस्पर्धाकै क्रममा खेलाडीको मृत्यु हुनु राम्रो होइन । यसका बारेमा हामी छानविन गर्छौं र निष्कर्ष बाहिर ल्याउँछौं ।’

सराङकोटबाट उडेको केही बेरमै थापा बनिरहेको घरमा ठोक्किन पुगेको कास्की प्रहरीले जनाएको छ । पोखरा प्याराग्लाइडिङको हव भएकोले आठौं प्रतियोगितादेखि पोखरामा प्याराग्लाइडिङको प्रतिस्पर्धा हुँदै आएको छ ।

राखेपले विमा संस्थानसँग खेलाडी र खेलसँग सम्बन्धित सबैको वीमा गरेको छ । खेलका क्रममा कोही घाइते भए विरामीको उपचारका लागि १ लाख दिने र कारणवश मृत्यु भए १० लाख दिने गरी व्यवस्था गरिएको धमलाले बताए । यसबाहेक सम्बन्धित प्रदेशले पनि बीमा गरेको छ ।

Logo