घटेका छैनन् सामुदायिक विद्यालयमा विद्यार्थी

घटेका छैनन् सामुदायिक विद्यालयमा विद्यार्थी


कतिपय सामुदायिक विद्यालयमा विद्यार्थीहरुको अभाव र शिक्षाको गुणस्तरमा प्रश्न उठ्छ । निजी विद्यालयहरुसँगको प्रतिष्पर्धाका कारण सामुदायिक विद्यालयहरुलाई प्रश्न उठ्नु स्वभाविक पनि हो । 

तर सबै सामुदायिक विद्यालय भने सोचे जस्तो कमजोर छैनन् । बरु निजी विद्यालयहरु भन्दा अब्बल र निजी विद्यालयहरुसँग प्रतिष्पर्धाका लागि निम्तो दिने पनि छन् । त्यसैमध्येको एक हो रुपन्देहीको बुटवलस्थित कान्ति माध्यमिक विद्यालय । 

वुटवलका केही सामुदायिक विद्यालयहरुले निजी शिक्षण संस्थाहरुको दबाबलाई तोड्दै मुलुककै अब्बल विद्यालयको रुपमा आफूलाई स्थापित गरेका छन् । बुटवल कालिका माध्यमिक विद्यालय र कान्ति माध्यमिक विद्यालयले निजी शिक्षण संस्थाहरुको भन्दा गुणस्तरिय शिक्षा प्रदान गरिरहेको स्थानीयहरु बताउँछन् । त्यसैले पनि सो क्षेत्रका विद्यार्थीहरुको रोजाईमा कान्ति माध्यमिक विद्यालय पर्ने गरेको छ । विद्यालयमा विद्यार्थीहरुको चाप बढेसँगै विद्यालयको भौतिक संरचनाहरु व्यवस्थित बनाउने काम भइरहेको विद्यालय श्रोत बताउँछ । 

कान्ति माध्यमिक विद्यालयमा अहिले ५ हजार भन्दा बढी विद्यार्थीहरुले अध्ययन गर्छन् । 

विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले विद्यार्थीहरुका अभिभावकको चाहनाअनुसार कक्षा १० र १२ मा पढ्ने केही विद्यार्थीहरुको लागि होस्टेल शुरुवात गरेकोसमेत बताए । उनले विद्यालयको भौतिक संरचना पूरा हुने चरणमा रहेको बताए ।  

नमूना विद्यालय छनोट कार्यक्रममा कान्ति माध्यमिक विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालय समेत बनिसकेको छ । 

Logo