इन्जिनियर व्यवसायी दर्ता हुन पहिलो पटक लाइसेन्स परीक्षा

इन्जिनियर व्यवसायी दर्ता हुन पहिलो पटक लाइसेन्स परीक्षा


इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लाइसेन्स परीक्षा लिन शुरु गरेको छ । 

आइतवार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इन्जिनियरिङ काउन्सिलले इन्जिनियर उत्तिर्ण भएका  इन्जिनियरहरुले इन्जिनियर व्यवसाय गर्नको लागि लाइसेन्स लिन पहिलो पटक परीक्षा लिन शुरु गरेको हो ।

काउन्सिलले लिएको पहिलो परीक्षामा इन्जिनियरिङ उत्तिर्ण गरेर बसेका २ हजार ६ जना इन्जिनियर सहभागि छन् ।

 नेपाल इन्जिनियरिङ काउन्सिलका रजिस्टार तथा सदस्यसचिव शिवमंगल गिरीले इन्जिनियर उत्तिर्ण भएका इन्जिनियरहरुले इन्जिनियर व्यवसाय गर्नको लागि काउन्सिलमा दर्ता हुनुपर्ने भएकाले लाइसेन्सको लागि परीक्षा शुरु गरेको बताए ।

उनले पहिलो पटक इन्जिनियरिङका २० वटा विधाको परीक्षा भइरहेको बताए । उनले इन्जिनियरको रुपमा काम गर्नको लागि इन्जिनियरिङ काउन्सिलले लिएको परीक्षामा उत्तिर्ण हुनुपर्ने बताए ।

सदस्यसचिव गिरीले परीक्षामा उतिर्ण नहुनेले काउन्सिलको प्रमाणपत्र नपाउने भएकाले नेपाल भर इन्जिनियरका रुपमा काम गर्न नपाउने बताए ।

उनले विगतमा जसले इन्जिनियरको प्रमाणपत्र पाउनेहरुले पुनः काउन्सिलले लिने परीक्षा दिनु नपर्ने बताए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले परीक्षाको निरीक्षण गरेका थिए । उनले परीक्षा निरीक्षणपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै काउन्सिल लिन लागेको परीक्षा राम्रो भएको भन्दै आफू प्रभावित भएको बताए ।

उनले इन्जिनियर बन्नको लागि निष्पक्षता,गुणस्तरियताको ग्यारेण्टी गर्ने विधि प्रयोग भएको भन्दै इन्जिनियर भएर व्यवसाय गर्न परीक्षामा कसैको भनसुन नलाग्नेमा ढुक्क भएको बताए ।

उनले काउन्सिलले लिने इन्जिनियर व्यवसाय गर्न परीक्षा प्रणालीले देशमा हुने निर्माणका कामहरुलाई उन्नत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै,काउन्सिलका अध्यक्ष पदम शाहीले विगतका विश्व विद्यालयको इन्जिनियरिङ उत्तिर्ण भएको प्रमाणपत्रका आधारमा काउन्सिलमा दर्ता भएर काम गर्न पाउने व्यवस्था रहेकाले परीक्षा प्रणाली नभएको बताए ।

उनले भर्खरै संशोधन भएको ऐन अनुसार अब मान्यता प्राप्त विश्वविद्यालयबाट पाएको प्रमाणपत्र लिएर काउन्सिलले लिने परीक्षा उत्तिर्ण भएपछि मात्रै इन्जिनियर व्यवसायको रुपमा काम गर्न पाउने बताए ।

उनले काउन्सिलले लिने परीक्षाको मुख्य उद्देश्य विश्वविद्यालयहरुलाई गुणस्तरिय शिक्षाको विषयमा सुझाव दिने भएको र परीक्षा लिँदा इन्जिनियर व्यवसायलाई गुणस्तर र मर्यादित बनाउने विश्वास रहेको बताए ।

अध्यक्ष शाहीले पहिलो पटक २ हजार ६ जना इन्जिनियरहरु परीक्षामा सहभागि रहेको बताए । काउन्सिलले दुई दिन परीक्षा लिएर तत्कालै परिक्षाको नतिजा प्रकाशित गर्ने उनको भनाई छ ।  

इन्जिनियरिङ काउन्सिलले विगतमा इन्जिनियर पढ्ने विद्यार्थीहरुसँग परीक्षा लिने गरेको थिएन। काउन्सिलले विश्व विद्यालयबाट इन्जिनियरिङ उत्तिर्ण प्रमाणपत्रका आधारमा परीक्षा बिना लाइसेन्स दिएर इन्जिनियरको रुपमा काम गरिरहेका थिए ।

तर अब इन्जिनियरिङसम्बन्धी कुनैपनि व्यवसाय गर्नको लागि काउन्सिलको परीक्षा उत्तिर्ण भएर अनुमति पाएपछि मात्रै काम गर्न पाउने नियम लागू भएको छ ।

Logo