मासु पसललाई व्यवस्थित गर्दै पोखरा महानगर

मासु पसललाई व्यवस्थित गर्दै पोखरा महानगर


पोखरा महानगरपालिकाले मासु पसललाई व्यवस्थित गर्न सुरुआत गरेको छ। महानगरले मासु पसल सञ्चालनका लागि तोकिएको न्यूनतम मापदण्ड पूरा गरेका पसललाई एकै प्रकारका बोर्ड तथा व्यवसाय परिचयपत्र वितरण गरेको हो ।

महानगरको पशु सेवा शाखाले आइतबार आयोजना गरेको कार्यक्रममा महानगरप्रमुख प्रमुख धनराज आचार्यले व्यवसायीलाई परिचयपत्र प्रदान गरेका हुन्। पशु सेवा शाखा प्रमुख नवराज अधिकारीले पशुबध तथा मासु जाँच ऐन २०५५, नियमावली २०५७ तथा महानगरको मासु जाँच निर्देशिकाअनुसारको मापदण्ड पालना गरेका ७४ पसललाई परिचयपत्र र बोर्ड प्रदान गरिएको बताए । उनका अनुसार महानगर क्षेत्रमा करिब छ सयको हाराहारीमा ठूला तथा साना मासु व्यवसायी छन् ।

महानगरले पसलको एकरूपताका लागि सबै पसललाई एकै आकार र बनोटको बोर्ड हस्तान्तरण गरेको छ । महानगर प्रमुख आचार्यले पोखरामा अब मापदण्ड विपरीतका फ्रेस हाउस बन्द गरिने बताए । महानगरबाट अनुमति प्राप्त गरेको पसल हो भनेर चिनाउने गरी बोर्ड प्रदान गरिएकाले मान्यता प्राप्त पसलबाट मात्र मासु खरिद गर्न उनले उपभोक्तालाई आग्रहसमेत गरे ।

महानगर प्रमुख आचार्यले भने, ‘अब केही समयपछि महानगरको बोर्ड नभएको पसलमा मासु खरिद विक्री नगर्नका हामी सार्वजनिक सूचना जारी गर्नेछौँ, महानगरबाट मान्यता प्राप्त गरेको र व्यवस्थित पसलमा स्वच्छ र स्वस्थ मासु उपलब्ध गराउनुपर्दछ ।’ महानगर प्रमुख आचार्यले महानगरले पोखरामा व्यवस्थित र सुविधासम्पन्न पशुबधशाला स्थापनाका लागि काम अघि बढाएको जानकारी दिए ।

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले स्वच्छ र सफा मासु खान पाउनु उपभोक्ताको अधिकार भएको बताइन् । उनले मापदण्ड पालना नगरेका अन्य पसललाई समेत पूरा गरेर महानगरमा दर्ता भएर परिचयपत्र लिन आग्रह गरिन् । पशु शाखा प्रमुख अधिकारीले मासु पसललाई बोर्ड र व्यावसायिक परिचयपत्र वितरणको काम नेपालमै पहिलो पटक सुरु भएको बताए ।

मापदण्ड पूरा नभएका पसल केही दिनको समय दिएर बन्द गराइने उनले बताए । उनले भनिन् ‘महानगरले मापदण्डविपरीतलाई बन्द गरेर पालना भएकालाई मात्र सञ्चालन गर्नेछ । बाँकी पसलसमेत केही समयपछि मापदण्ड पालनामा आउने विश्वास लिएका छौँ ।’

यसैगरी महानगरले विभिन्न पाँच विधाका उत्कृष्ट कृषकलाई नगदसहित सम्मान गरेको छ । गाई, भैँसी, कुखुरा, बङ्गुर र बाख्रा पालनमा उत्कृष्ट कृषकलाई जनही रु १० हजारसहित पुरस्कृत गरिएको महानगरले जनाएको छ।

उत्कृष्ट कृषक सम्मान प्राप्त गर्नेमा पोखरा १५ का भैँसी पालक कृषक दीपक तिमिल्सिना, पोखरा–२५ का गाई पालक कृषक घनश्याम तिमिल्सिना, पोखरा–१७ का कुखुरा पालक कृषक चन्द्रकान्त बराल, पोखरा–२० का बाख्रा पालक कृषक दुर्गाबहादुर गुरुङ र पोखरा–१९ का बङ्गुर पालक कृषक सरस्वती बस्ताकोटी छन् ।

त्यसैगरी लामो समय कृषि तथा पशुपालनमा लागेकालाई ज्येष्ठ प्रवर्द्धक कृषकको सम्मान प्रदान गरिएको छ । महानगरले पाडीबाच्छी आफैँ हुर्काएर माउ बनाउने पाँच सय कृषकलाई रु तीन हजार र एक हजार पाडीबाच्छी हुकाउनेलाई रु चार हजारका दरले अनुदान उपलब्ध गराइएको छ । महानगर क्षेत्रका अपाङ्गता भएका व्यक्तिलाई रु आठ हजारका दरले ५० जनालाई बाख्रा खरिदका लागि अनुदानसमेत प्रदान गरिएको छ ।

Logo