विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको छः उपप्रधानमन्त्री खड्का

विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको छः उपप्रधानमन्त्री खड्का


नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको बताएका छन्। 

शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको नेपाल राष्ट्रिय मगर संघको दोस्रो कर्णाली प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले देश विविध कारणले अप्ठ्यारोमा परेको बताएका हुन्।

उनले भने,‘संविधानलाई विभिन्न बहानामा हल्लाउने कोसिस भइरहेको छ, त्यसप्रति सजग हुन आवश्यक छ,। संविधानलाई भड्काउने कोसिस भएको संकेत देखिएकाले यसमा काँग्रेस जिम्मेवार बन्नु पर्दछ।’ 

काँग्रेस उपसभापति समेत रहेका उपप्रधानमन्त्री खड्काले पद प्राप्त पछिको घमण्ड र अहङ्कारका कारणले काँग्रेसप्रति जनताको गुनासो बढेको बताए। त्यसैले प्रत्येक नेता कार्यकर्ताको व्यवहार र बोलीवचनमा सुधार गर्न आवश्यक रहेकाे उनको भनाइ थियो।

त्यस्तै, उपप्रधानमन्त्री खड्काले राष्ट्रिय मगर संघको दाेस्राे कर्णाली अधिवेशनले आम जनमानसमा एकताको सन्देश दिने विश्वास व्यक्त गरेका थिए। काँग्रेसको आगामी महासमिति बैठकका लागि समेत मगर संघको अधिवेशनबाट महत्वपूर्ण सुझाव आउने उपप्रधानमन्त्री खड्काले विश्वास व्ययक्त गरे।

Logo