कोटेश्वरमा अत्यासलाग्दो जाम

कोटेश्वरमा अत्यासलाग्दो जाम


काठमाडौं,

चक्रपथको पूर्वी भागमा पर्ने काठमाडौँ–भक्तपुरको मुख्य प्रवेश विन्दु कोटेश्वर नाकामा अत्यास लाग्ने गरी सवारी जाम बढेपछि त्यो जामलाई हटाउन प्रहरीलाई ठूलै सकस भएको छ । त्यहाँको ट्राफिक व्यवस्थापनका लागि हरेक महिना छलफल हुन्छ, आकर्षक योजना बन्छन् तर कार्यान्वयन पक्ष शून्य जस्तै छ । यो जामले सबैलाई हैरान पारेको छ ।

अरनिको राजमार्ग भएर राजधानी आउने र जाने सवारी साधनहरू कतिपय अवस्थामा आधा घन्टादेखि दुई घन्टासम्म जाममा पर्ने गरेको गुनासो सर्वसाधारणको छ । त्यति मात्र होइन, कार्यालय आउने र जाने समयमा पनि दैनिक उत्तिकै सास्ती खप्नु परेको भनाइ यात्रु रामेश्वर श्रेष्ठको छ ।

चक्रपथ रुटमा चल्ने गाडी आउने र जाने दुवै सडक किनारामा त्यहीँ रोकेर ओराल्ने र चढाउने व्यवस्था छ तर त्यसमा समस्या बीसको उन्नाइस भएको छैन । यो समस्याको समाधानकै लागि यसअघि महानगरीय ट्राफिक प्रहरी महाशाखाले जाम घटाउन रोक्न नपाउने तर चढाउने र ओराल्ने (पिक एन्ड ड्रप) व्यवस्था लागू गरेको थियो तर केही दिनयता ‘पिक एन्ड ड्रप’ बाट पनि जाम घटाउन नसकिएको भनाइ ट्राफिक प्रहरीको छ ।

कोटेश्वरचोकमा स्मार्ट ट्राफिक बत्तीका साथै आकासेपुलको अभाव छ । कार्यालय समयमा सर्वसाधारणले बाटो काट्ने र सवारी साधनहरू पनि चारैतर्फबाट एकैसाथ पुग्ने भएकाले लामो जाम हुने गरेको भनाइ त्यहाँ कार्यरत ट्राफिक प्रहरीको छ ।

बजेट छ तर कार्यान्वयन हुँदैन

काठमाडौंँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले त्यहाँको ट्राफिक जाम हटाउने विषय छलफलकै चरणमा रहेको बताउनुभयो । कोटेश्वर नाकाको जाम घटाउन सडक विभाग, यातायात विभाग र काठमाडौँ महानगरपालिकाले विभिन्न कार्ययोजना तथा बजेट छुट्याउने गरेका छन् तर त्यसको कार्यान्वयन भने शून्य जस्तै छ । चुस्त, छिटो, छरितो तथा प्रविधिमैत्री ट्राफिक व्यवस्थापनका लागि ती निकायहरूबीच प्रत्येक महिनाको एक दिन छलफल हुने गरेको छ ।

महानगरपालिकाले आकाशेपुल, स्मार्ट ट्राफिक बत्ती, सडक विभागले सडक मार्किङ (रेखाङ्कन) र यातायात कार्यालयले प्रदूषण नियन्त्रण तथा पुराना सवारी साधनहरू विस्थापित गर्न आकर्षक कार्ययोजना सार्वजनिक गरे पनि कार्यान्वयन हुन नसक्दा उक्त समस्या देखिएको हो ।
गोरखापत्रबाट

Skip This
Logo