चारवर्षमा पुनर्निर्माण ८० प्रतिशत सकिएको प्राधिकरणको दावी

चारवर्षमा पुनर्निर्माण ८० प्रतिशत सकिएको प्राधिकरणको दावी


काठमाडौं

गोरखा भूकम्प गएको चार वर्षको अवधिमा निजी आवास पुनर्निर्माणमा ८० प्रतिशत उपलब्धि हासिल भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दावी गरेको छ ।

प्राधिकरणले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा क्षेत्रगत आधारमा कम्तीमा ५६ र बढीमा ८० प्रतिशतसम्म उपलब्धि हासिल भएको जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भन्नुयो,‘ निजी आवास पुनर्निर्माणमा ८० प्रतिशतसम्म उपलब्धि हासिल भएको छ भने कतिपय क्षेत्रमा कम्तीमा पनि ५६ प्रतिशत उपलब्धि हासिल भएको छ ।’’

प्राधिकरणको वैशाख ८ गतेसम्मको विवरण अनुसार भूकम्पका कारण क्षति भई अनुदान सम्झौता गरेका सात लाख ६२ हजार ३०७ घर परिवारमध्ये तीन लाख ८२ हजार २७७ परिवारले आफ्नो घर निर्माण गरेर बस्न थालिसकेका छन् । त्यस्तै दुई लाख ३० हजार ६५८ घर निर्माणाधीन अवस्थामा रहेका छन् ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले गाउँमा प्राविधिक पुग्नु अघि नै पुनर्निर्माण सम्पन्न भएका घरहरूको अवस्था पनि हेरेर आवश्यक सुधार गरी अनुदान रकम दिन स्थानीय निकायलाई जिम्मेवारी दिइएको बताउनुभयो ।
गोरखापत्रबाट

Logo