…र पशुपति हजारौ सपनाको अन्तिम विसर्जन

…र पशुपति हजारौ सपनाको अन्तिम विसर्जन


कृष्ण सिंह धामी

काठमाडौं । पशुपतिस्थित बागमती किनारमा चितामाथि शव जलिरहन्छ । नजिकै आफन्तहरु रोईकराई गरिरहेका हुन्छन् । घरी जोरले चिच्याएर रुन्छन्, त घरी बिलौना पोख्छन्, ‘मलाई किन छोडेर गयौं । अब म कसरी बाच्ने… ’ यस्तै यस्तै खालका ।

केही आफन्तहरु फेरि सम्झाउन अघि बढ्छन् । ‘हुने हार दैव नटार भनेजस्तै हो । एकदिन सबैले मर्नैपर्ने हो । हामी सबैको अन्तिम विश्राम लिने ठाउँ भनेकै यही पशुपति हो ।’ आफन्तहरु सम्झाउछन् । मन न हो । एकछिन शान्त हुन्छ । फेरि उही शैली । यस्तो क्रम चलिरहँदा चितामाथि राखिएको शव खरानी हुन्छ । र, अस्तुलाई अन्तिम विश्रजन गरिन्छ । अनि सबै जना घरतिर लाग्छन् ।

पशुपतिमा जलिरहेको शव । तस्बिरः सन्दीप आचार्य

यताउति बसिरहेका मानिसहरु पनि एकआपसमा कुराकानी गरिरहेका हुन्छन् । कसैको पनि अनुहारमा खुशी भाव देखिदैंन् । सबैको अनुहार मलिन हुन्छ । सबै जसो नजिकै जलिरहेको चितातिर नियाल्छन् । अनि उनीहरु निष्कर्षमा पुग्छन्, ‘मानिसको अन्तिम सत्य भनेको मृत्यु नै हो ।’

कुराकानी क्रममा उनीहरु एकाएक भावुक पनि बन्छन् । कोही त धुरुधुरु रुन थाल्छन् । विशेषगरी बृद्धबृद्धाहरु रुने वर्गमा पर्छन् । दिनभर समय विताउने ठाउँ नै उनीहरुको पशुपति हुन्छ । र, उनीहरु भन्छन्, ‘हाम्रो पनि दिन धेरै छैन् ।’

जलाउनको लागि तयारी गरिरहेको अवस्थामा शव । तस्बिरः सन्दीप आचार्य

यो सवै दृश्य नेपालकै सबैभन्दा ठूला भगवान पशुपतिनाथमा रहेको पशुपति आर्यघाट वरपरका हुन् । शनिवारको दिन पशुपति क्षेत्रमा पुग्दा यस्ता–यस्ता दृश्य मात्रै देखिन्थ्ये । कोही जलिरहेको शवलाई चिह्याएर नियालिरहेका थिए भने कोही फोटो खिच्न तल्लिन थिए । जसले जे–जस्तो गरेपनि सबैको मनमा एउटा कुरा बारम्बार उब्जिरहेको थियो कि, ‘अन्तिम सत्य मृत्यु हो । हामी सबैको अन्तिम विश्राम स्थल भनेकै यही हो ।’

विदेशी पर्यटकहरु पनि पशुपति क्षेत्रका गतिविधि नियालिरहेका थिए । उनीहरुलाई पनि पशुपतिमा पुग्दा त्यही सत्य लाग्छ । र, चितामाथि जलिरहेको शवलाई चिह्याएर नियाल्छन्, लामो स्वास फेर्छन् । अनि भन्छन्, ‘हे माई गड । यु आर अ…’

थरीथरीका मानिसः
पशुपतिमा विभिन्न प्रकारका मानिसहरु जम्मा हुन्छन् । कोही धर्मकर्मतिर आस्था राखेर पूजापाठ गर्न आउँछन् त कोही विशुद्ध मनोरञ्जन । भने कोही बहकिने मनलाई शान्त पार्न । पशुपतिमा बढीजसो बृद्धबृद्धाको संख्या बढी देखिन्थ्यो । उनीहरु दिनभर घाम तापेर एकआपसमा कुरा गर्दै समय विताउन तल्लिन देखिन्थ्ये ।

पशुपति क्षेत्रमा मानिसहरुको चलहपहल । तस्बिरः सन्दीप आचार्य

पशुपति परिसरमा रहेको श्लेष्मान्तक वन (मृगस्थली) क्षेत्रमा पनि मानिसहरु रमझमसँगै एकआपसमा गफिरहेको देखिन्थ्ये । कोही त्यही जीवनको बारेमा चर्चा परिचर्चा गरिरहेका हुन्थे । त कोही जीवनबाट प्रताडित देखिन्थ्ये । एक आपसमा यस्तै यस्तै खालका भाव प्रकट गरिरहेका हुन्थे ।

भविष्य हेर्न आउनेको पनि पशुपतिमा लर्कोः
आफ्नो भविष्य कस्तो छ ? भविष्यमा गएर म कस्तो मान्छे बन्छु ? जस्ता यावत प्रश्नको खोजी पनि पशुपतिमै गरिन्थ्यो । त्यसको लागि बागमती किनारमा बसेका ज्योतिष कहाँ धाउनेको लर्को देखिन्थ्यो । ज्योतिषहरुलाई उनीहरुको पहिलो प्रश्न हुन्थ्यो, ‘मेरो भविष्य कस्तो छ ?’ त्यसपछि ज्योतिषहरुले उनीहरुको हात र अनुहारमा हेरेर जे–जे मन लाग्यो त्यही भनिदिन्थे  ।

भाग्य हेराउन बागमती किनारमा बसेका ज्योतिषहरु । तस्बिरः सन्दीप आचार्य

कोही आफ्नो मनलाई खुश पारेर हर्षित मुद्रामा निस्किन्थ्ये त कोही मलिन अनुहार बनाएर आफ्नो गन्तव्य लाग्थ्ये । यो क्रम बिहानदेखि बेलुकासम्म चलिरहन्छ । त्यो पनि हरेक दिन ।

ज्योतिषहरु एकातिर अरुको भविष्य बताईदिन्छन्, भने अर्कोतिर आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । टिका लगाईदिएर पनि आफ्नो गुजारा चलाउनेको संख्या पशुपतिमा त्यत्तिकै छ । विशेषगरी महिला तथा जोगीहरु यो काममा अगाडि देखिन्छन् । उनीहरु टिका लगाईदिए बापत आउने दुई–चार रुपैयाँले आफ्नो घर परिवारको पेट पाल्दैं आएका छन् ।

चलाख पर्यटक, ठग ट्याक्सी ड्राईभरः

विदेशी पर्यटकसँग बार्गेनिङ गर्दै ट्याक्सी चालक । तस्बिरः सन्दीप आचार्य

पशुपति क्षेत्रमा अर्को रोचक दृश्य पनि देखियो । जुन हाम्रो क्यामेरामा कैद गरियो । पशुपति क्षेत्रको दर्शन तथा अवलोकन गरेर विदेशी पर्यटक बाहिर आउँछन् । पशुपतिको गेट नजिकै रहेका ट्याक्सी चालकले ति पर्यटकलाई बोलाउँछन् । ‘हेलो नमस्ते आर यू गोईङ टु द ठमेल ?’ ट्याक्सी चालकको यो प्रश्नपछि ति पर्यटकले फ्याट्ट भनिहाले ‘हाउँ मच ? टु हन्ड्रेड वानली’ ट्याक्सी चालक हास्न थाल्छन् । त्यसपछि ति चालकले भने ‘ नाईन हन्ड्रेड डलर।’ ति पर्यटक बाँकी केही कुरा नगरी आफ्नो बाटोतिर लाग्छन् ।

अपाङ्गता भएकाको पनि रोजीरोटी खाने बाटो पशुपतिः

अपाङ्गता भएका व्यक्तिहरु पशुपति क्षेत्रमा सांगीतिक कार्यक्रम गर्दै । तस्बिरः सन्दीप आचार्य

पशुपतिले धेरैलाई रोजगारी पनि दिएको छ । धेरैको पेट पालेको छ । धेरैलाई निःशुल्क खानपानको पनि व्यवस्था गरिदिएको छ । यस्तैमा अपाङ्गता भएका व्यक्तिहरु पनि पशुपति क्षेत्रमा देखिन्थ्ये । उनीहरु त्यतिकै नमागेर गीत संगीतको माध्यमबाट आफुहरुलाई सहयोग गर्न अनुरोध गरिरहेका थिए । उनीहरु पशुपति क्षेत्रमा दर्शन गर्न आउने तथा घुम्न आउनेहरुसँग सहयोग मागिरहेका थिए ।

नो पार्किङ लेखिएको क्षेत्रमा व्यापार गर्दै । तस्बिरः सन्दीप आचार्य
टिका लगाईदिएर आफ्नो जीविकोपार्जन गर्दै एक महिला । तस्बिरः सन्दीप आचार्य
जलिरहेको शवलाई चलाउँदैं एक । तस्बिरः सन्दीप आचार्य
पशुपतिमा आवश्यक पर्ने फूल लिएर आउँदैं एक व्यापारी । तस्बिरः सन्दीप आचार्य

Logo