सेनाको हतियार खरिद प्रक्रिया अन्योलमा

सेनाको हतियार खरिद प्रक्रिया अन्योलमा


काठमाडौं

सरकारले नेपाली सेनाको आधुनिकीकरण तथा शान्ति सेनामा खटिने सैनिकका लागि हतियार खरिद प्रक्रिया अन्योलमा परेको छ । अमेरिकासँग जी टु जी प्रक्रिया अन्तर्गत हतियार खरिद प्रक्रिया अघि बढाइए पनि ‘भुक्तानी विधि’ का कारण उक्त प्रक्रिया रोकिएको छ ।

सरकारले सेनाका लागि अमेरिकामा निर्मित एम–१६ सिरिजको हतियार खरिद प्रक्रिया अघि बढाएको थियो । सैन्य स्रोतका अनुसार सरकारले यस पटक अमेरिकासँग करिब ४ हजार थान हतियार खरिद गर्न लागेको हो ।

‘हतियार खरिद प्रक्रिया पाइप लाइनमै छ, ‘तर मोड अफ पेमेन्टका कारण केही ढिलाइ भएको छ,’ सैनिक प्रवक्ता सहायक रथी यमप्रसाद ढकालले भने । नेपालको सार्वजनिक खरिद ऐनका कारण खरिद प्रक्रियामा समस्या भएको ढकालले जानकारी दिए । ‘सेनाको आधुनिकीकरण र शान्ति मिसनमा खटिने सेनाका लागि जी टु जी प्रक्रिया अनुसार खरिद प्रक्रिया अघि बढिसकेको छ, सार्वजनिक खरिद ऐनका कारण भुक्तानीमा केही समस्या भइरहेको छ,’ ढकालले भने ।

हतियारका लागि अमेरिकाले नेपालसँग सुरुमै सम्पूर्ण रकम भुक्तानी माग गरेको छ । नेपालको सार्वजनिक खरिद ऐनले भने सुरुमै भुक्तानी दिन नमिल्ने व्यवस्था गरेको छ । नेपालको खरिद ऐन अनुसार रकम तीन चरणमा भुक्तानी दिनुपर्ने व्यवस्था छ । यही कारण प्रक्रिया अघी बढे पनि खरिदको काम हुन सकेको छैन । सार्वजनिक खरिद ऐन अनुसार सुरुमा एडभान्स, त्यसपछि प्रिडेलिभरी र अन्तिममा फाइनल भुक्तानी दिनुपर्ने व्यवस्था छ । सेनाले भुक्तानी प्रक्रिया कसरी टुंग्याउने भन्ने विषयमा छलफल भइरहेको जनाएको छ । ‘छलफल भइरहेको छ, भुक्तानी कसरी गर्ने भन्ने विषय टुंगिएपछि हतियार खरिदको प्रक्रिया अघि बढ्छ,’ ढकालले भने ।
नागरिकबाट

Logo