दाङ

लमही नगरपालिका–९, अमिलियास्थित जयवागेश्वरी बालुवा प्रशोधन केन्द्र राप्ती नदीको छेवैमा छ । "/>

वालुवा प्रशोधनका नाममा नदी दोहन उच्च

वालुवा प्रशोधनका नाममा नदी दोहन उच्च


दाङ

लमही नगरपालिका–९, अमिलियास्थित जयवागेश्वरी बालुवा प्रशोधन केन्द्र राप्ती नदीको छेवैमा छ । बालुवा खरिद तथा प्रशोधन गरेर बिक्री गर्ने अनुमति यो केन्द्रलाई छ । तर यो केन्द्र बालुवा प्रशोधनमा मात्रै सीमित छैन । यसले राप्ती नदी तथा आसपासका खोला खोतलेर दोहन गरिरहेको छ । राप्ती नदीमा अनधिकृत रूपमा एक्साभेटर प्रयोग गरेर बालुवा र ढुंगा निकाल्ने काम भइरहेको छ ।

नदीमा ठूल्ठूला खाल्डा पारिएका छन् । आसपासका खोला पनि यसैगरी दोहन गरिएका छन् । केन्द्रको यो गतिविधिले प्रश्न उब्जाएको छ– यो बालुवा प्रशोधन केन्द्र हो वा क्रसर उद्योग ? केन्द्रले राप्ती नदी र आसपासका खहरे खोलामा भइरहेको जथाभाबी दोहनमा अनुगमन गर्ने निकायको ध्यान पुगेको छैन ।

लमही नगरपालिकाले बालुवा प्रशोधन केन्द्रले नदी उत्खन गर्नै नपाउने नियमलाई टेकेर उसलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन । ‘उत्खनन बढी भएको वा अनियमितता भएको गुनासो आएका बेला उसलाई नियममा रहेर मात्र काम गर्न सचेत गराएका छौं,’ लमही नगरपालिकाका मेयर कुलबहादुर केसीले भने, ‘नियम र कानुनको परिधिभित्रै रहेर काम नगरे हामी कारबाही गर्छौं ।’

बालुवा प्रशोधनका नाममा उक्त केन्द्रले गरेको खोला तथा नदीदोहन गैरकानुनी छ । कानुनी रूपमा केन्द्रले बालुवा खरिद, प्रशोधन तथा बिक्री गर्न मात्र पाउँछ । क्रसर उद्योगले जस्तो सीधै खोलामा उत्खनन गर्न पाउने अधिकार यस्ता प्रशोधन केन्द्रलाई हुँदैन । नदी उत्खनन ठेक्का बन्द रहने समयमा पनि यो प्रशोधन केन्द्रले खोलामा मनपरी गरिरह्यो ।

असारदेखि भदौसम्म खोला उत्खनन गर्न पाइँदैन । तर यो केन्द्रले बाह्रै महिना जसो अनधिकृत रूपमा खोला दोहन गरिरहँदा पनि नियमनकारी निकाय मौन छन् । केन्द्रले स्थानीयलाई विकासका पूर्वाधार खडा गरिदिने भन्दै खोला दोहन गरिरहेको छ । ‘नदीछेउका व्यक्तिगत जग्गा खरिद गरेर उत्खनन गरिएको हो,’ केन्द्रका एक कर्मचारीले भने, ‘प्रशोधन केन्द्रले उत्खनन गर्न पाउने नपाउने नियमबारे त मलाई थाहा भएन ।’
नागरिकबाट

Logo