राष्ट्रिय पोषाक घोषणामा बाबुरामको आपत्ती, मध्यरातमा ट्विट

राष्ट्रिय पोषाक घोषणामा बाबुरामको आपत्ती, मध्यरातमा ट्विट


तत्कालिन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकारले राष्ट्रिय पोसाक घोषणा गरेकोमा आपत्ती जनाएका छन् । मध्यरातमा ट्विट गर्दै भट्टराईले सरकारी निर्णयलाई संविधानको मर्मविपरीत भएको बताएका हुन् ।

भट्टराईले राष्ट्रिय पोसाकको घोषणा नयाँ जोगीले खरानी धसेजस्तै भएको बताएका छन् । ‘व्यक्तिका निजी उपभोगका वस्तुमा स्वास्थ्य र सामाजिक मर्यादा अनुकुल हुनुपर्ने बाहेक अन्य बन्देज लगाउनु आधुनिक लोकतान्त्रिक मान्यता विपरीत हुन्छ । कम्युनिष्ट भनिने सरकारले अमुक लुगा लगाउनैपर्ने उर्दी जारी गर्नु विडम्बनापूर्ण मात्रै नभई संविधानको मर्मविपरीत पनि छ । नयाँ जोगीको यो खरानी !’उनले लेखेका छन् ।

२०६८ सालमा प्रधानमन्त्री हुँदा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले दौरा सुरुवाल र साडीचोलोसँगै नेपालमा लगाइने सबै मातृ भेषभूषालाई राष्ट्रिय पोसाक घोषणा गरेका थिए ।
भदौ १९ गते राष्ट्रपति भवन शितल निवासमा प्रदान गरिने विभूषण समारोहमा सहभागी सबैलाई दौरासुरुवाल र साडी-चोलोमा उपस्थित हुन सरकारले आग्रह गरेको थियो । “नेपाली पोशाक भन्नाले नेपाली नागरिकले लगाउँदै आइरहेको महिलाको निमित्त जुनसुकै शैलीको चोलो-साडी र जुत्तासहितको पोशाक र पुरुषको निमित्त सेतो रंगको लवेदा-सुरुवाल, ग्रे-कालो कोट, भादगाउँले कालो टोपी र छालाको कालो जुत्ता सम्झनुपर्ने छ,” गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

Logo