डा. केसीको बुई चढेर ‘हिरोइज्म’ देखाउने यी ३

डा. केसीको बुई चढेर ‘हिरोइज्म’ देखाउने यी ३


डा. गोविन्द केसीलाई पक्राउ नगरेको भए ? सायद हिँउदको चिसो बिहान माइतीघर मण्डलामा उभिएर गगन थापा कुर्लने थिएनन्, ‘श्रीमान् डा. गोविन्द केसीलाई मानहानी लाग्छ भने, त्यो हामी सबैलाई लागोस् ।’

रविन्द्र मिश्रले होस्टेमा हैंसे गर्दै थप्ने थिएनन्, ‘अपराधी जसरी गिरफ्तार गर्ने सरकारलाई अधिकार छैन ।’ डा. बाबुराम भट्टराई समेत हस्याङफस्याङ गर्दै दर्शकदीर्घको अगाडि गमक्क परेर उभिन पुग्ने थिएनन् ।

डा. केसीले सोमबार चार बजे अर्को अनसन थाल्ने तयारी गरिरहँदासम्म कुनै चालचुल थिएन । यसपाली उनी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई घुँडा टेकाउन आफु भोक–तिर्खा सहने कष्ट गर्दैथिए । सर्वोच्च अदालतले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को डिनमा शशि शर्मालाई पुनर्वहाली गर्न आदेश दिएपछि डा. केसी यो ‘बिषवृक्ष’को जरै उखेल्न चाहन्थे ।

तर, अनसनलगत्तै सर्वोच्चले उनलाई ‘मानहानी’को मुद्दा लगाएर पक्राउ आदेश जारी गर्यो । महारजगञ्जको त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलबाट उनलाई प्रहरीले उठाए । उनलाई सिहंदरबारस्थित प्रहरी वृत्तमा पुर्याइयो ।

पक्राउपछिको पराकम्पन
जसै डा. केसी पक्राउ परे, हिँउदको चिसो मौसम एकाएक गर्मायो । स्वतस्फूर्त बिरोधका आवाज गुञ्जिए । ‘माफियातन्त्र सल्बलायो, नैतिकता कता हरायो’ लिखित प्लेकार्ड बोकेका तन्नेरीहरुले सडक उचाले । ठीक यही पाश्र्वध्वनी र दृश्यबीच एकाएक ‘हिरोहरु’को पर्दापण भयो । हिरोहरुको पर्दापण ठीक त्यसैगरी भयो, जसरी सिनेमामा गुन्डाहरुको चंगुलमा फसेकी नवजवान हिरोइनको रक्षा गर्न सुकिला र बलिष्ठ हिरोहरु आइपुग्छन् । अहिले क्लाइमेक्स दोहोरिएको छ । र, यसमा हिरोहरु गगन, डा. बाबुराम, रविन्द्र हठात पर्दामा छाएका छन् ।

गोबिन्द केसीको अभियान आफ्नो ठाउँमा छ । उनको सत्याग्रहमा प्रश्न उठाउने ठाउँ पनि छैन । स्वास्थ्य क्षेत्रका माफिया बिरुद्धको उनको लडाई जारी छ । यसमा समर्थन जनाउनु वा नजनाउनु आ–आफ्नो कुरा हो ।

यो लडाईको विषय एकछिन थाँती राखौं । खासमा यहाँ जुँगाको लडाई चलेको छ । आफ्नो साखको लडाई छ । अतः यहि चेष्टाले गोबिन्द केसीको बुई चढेर आफ्नो प्रताप विस्तार गर्ने ‘हिरोहरुको’ उदय भएको छ ।

यो रंगमञ्चमा उनीहरुको नाटक उदेखलाग्दो लाग्नु स्वभाविक किनपनि हो भने, हिजोको दिनमा डा. केसीकै मुद्दामा उनीहरु रमिते थिए । हात बाँधेर, कान थुनेर प्यारापिटमा बसेका थिए । यदी त्यसो नहुँदो हो त, हिजोका दिनमा गगन थापा स्वंम स्वास्थ्य मन्त्रालयको कुर्सीमा बिराजमान थिए । डा. भट्टराईले त राज्यको सम्पूर्ण बागडोर नै सम्हालेका थिए ।

ती दिनहरुमा पनि डा. केसी अनशन बस्थे नै । यस्तै माफियातन्त्र मौलाइरहेकै थियो । नेपथ्यमा अनेकन चलखेल भइरहेकै थिए । जनस्वास्थ्यमा खेलबाड भइरहेकै थियो । त्यही विकृत संस्कारले गोविन्द केसीहरुलाई अनसन बस्न बाध्य पारिदै थियो । त्यसबेला केही थाहा नपाएजसरी, केही नभएजसरी बुझ पचाएर बसेका महापुरुषहरु आज ‘हिरोइज्म’ देखाउन किन कस्सिए ?

यसमा देखिने र नदेखिने दुई पाटा छन् ।

देखिने पाटो
राज्य र जनताका लागि समर्पित एक सत्याग्रहीले थालेको अभियानमा ऐक्यवद्धता जनाउनु । अभियान्तामाथि भएको ज्यादतीको प्रतिकार गर्नु । राज्यमा व्याप्त विसंगति बिरुद्ध आवाज बुलन्द गर्नु । डा. केसीको माग जायज भएको र उनलाई पक्राउ गर्नु राज्यको लाचरी भएको सावित गर्नु ।

नदेखिने पाटो
मुलुकको सर्वोच्च कार्यकारी पद प्रधानमन्त्री पड्काइसकेका डा. बाबुराम भट्टराईको राजनीतिक चार्म पछिल्लो समय फिका हुँदै र खुइलिदै गएको अवस्था छ । जतिबेला उनी प्रधानमन्त्री भएका थिए, त्यसताका देश–विदेशका युवाहरु उनीप्रति आशावादी थिए । बौद्धिक छवी बनाएका भट्टराईले वास्तवमै सुशासन ल्याउनेछन् भन्ने अपेक्षा थियो । त्यसैले त उनीहरुले टिसर्टमा यस्तो लेखेका थिए, ‘डा. भट्टराईलाई काम गर्न देउ ।’

तर, युवाहरुको यो अपेक्षा र आशालाई उनले नराम्ररी लत्याइदिए । डा. भट्टराईमाथि युवाहरुको अपेक्षा स्वभाविक रुपमा घट्दै गयो । र, आजको अवस्थासम्म यो दयानीय चरणमा पुगिसकेको छ । यसरी आफुले गुमाएको युवा–आशालाई फर्काउनका लागि डा. भट्टराई उपयुक्त दाउ हेरिरहेका छन् । डा. केसीको पक्राउ र त्यसले पैदा गरेको जनआक्रोसका पृष्टभूमीमा उनी ‘मौकामा चौका’ हान्न हतारिएका हुन् ।

कटाक्ष–किंग केपी शर्मा ओलीले भन्ने गरेका छन्, ‘गगन थापा सेलिब्रेटी नेता हुन् । उनको लागि उपयुक्त काम भनेको विज्ञापन खेल्नु हो ।’ ओलीको भनाइको आशय र गगनको कामको ढंग करिब करिब मिल्छ । गगन जतिबेला पनि ‘हिरो बन्ने’ मौका खोजिरहेको जस्तो देखिन्छ । कुनैबेला उनीमाथि पनि युवाहरुको व्यापक समर्थन थियो । युवानेतालाई युवाहरुले वास्तवमै पत्याएका थिए । तर, पछिल्लो चरणमा उनी ‘सेलिब्रेटी’ मात्र रहेछन् भन्ने थाहा भइसक्यो ।

‘बीबीसीको आकर्षक जागिर त्याग’ को बल्छी थापेर राजनीतिक मैदानमा हेलिएका रविन्द्र मिश्रको त्यही अवस्था छ, जो हविगत सिंगो फिल्म डोहोर्याउन नसक्ने अभिनेतामा हुन्छ । यस्ता अभिनेताहरुको उपस्थिती भए पनि ठिकै, नभए नि ठिकै हुन्छ । अर्थात मूल कथालाई काँध थाप्ने शक्ति उनीहरुमा हुँदैन । त्यही कारण ‘साइड हिरो’हरु मूख्य हिरोको भूमिकालाई शसक्त बनाउने काममा मात्र प्रयोग गरिन्छ । अहिले मिश्रले पनि मूख्य भूमिका निर्वाह गर्न सक्छन् भन्ने विश्वासमा छैन, सर्वसाधरणमा । संभवत यो कुरा उनले अनुभूत गरेका पनि छन् । त्यसैले जनमत कसरी जित्न सकिन्छ भन्ने यत्नमा उनी मौका खोजिरहेका छन् ।

Logo