‘शिक्षा बहुमुखी’ बन्दै सुर्खेत क्याम्पस

‘शिक्षा बहुमुखी’ बन्दै सुर्खेत क्याम्पस


तत्कालीन मध्य तथा सुदूरपश्चिम क्षेत्रकै प्रख्यात सुर्खेत क्याम्पस (शिक्षा) मा अब व्यवस्थापन सङ्कायका कार्यक्रम पनि सञ्चालन हुने भएका छन् । स्थापनाकालदेखि शिक्षाशास्त्र सङ्कायमात्र सञ्चालन गर्दै आएको क्याम्पसमा बीबीएसका कार्यक्रम सञ्चालनको तयारी गरिएको हो ।  

त्रिभूवन विश्वविद्यालय (त्रिवि) ले यसका लागि स्थलगत अध्ययन र सरोकारवालासँग छलफल गर्न एक टोली यहाँ खटाएको छ । त्रिविले मानविकी तथा व्यवस्थापन सङ्कायका डिन प्रा डा डिल्लीराज शर्मा नेतृत्वको टोलीले अन्य सङ्काय सञ्चालनका लागि आवश्यक पूर्वाधार र जनशक्तिबारे छलफल गर्दैछ ।  

क्याम्पस प्रमुख माधवप्रसाद खनालले शिक्षा बहुमुखी क्याम्पसका रुपमा रुपान्तरण गर्न लागिएको बताए । “व्यवस्थापन सङ्काय सञ्चालनका लागि आफूहरुसँग पूर्वाधार तथा पर्याप्त आधार छन्”, उनले भने, “तत्काललाई बीबीएस कार्यक्रम शुरु गर्ने तयारीमा छौँ, यहाँको आवश्यकता पनि बीबीएस भएकाले यससम्बन्धी प्रस्ताव स्वीकृतिका लागि त्रिविमा पठाइएको छ ।”

त्रिविका मानविकी तथा व्यवस्थापन सङ्कायका डिन शर्माले सुर्खेत क्याम्पस (शिक्षा) लाई प्रदेशकै अग्रणी क्याम्पसका रुपमा साख जोगाउन चुनौती रहेको बताए । उनले भने, “पुरानो भएर मात्र हुँदैन, आफूलाई समय सापेक्ष परिवर्तन गर्दै लैजानुपर्छ, स्थानीय आवश्यकता र सम्भावनानुसारका नयाँ कार्यक्रम सञ्चालन गर्नुपर्छ ।” क्याम्पसलाई राजनीतिदेखि टाढै राख्न उनको सुझाव थियो । वीरेन्द्रनगरस्थित शिक्षा क्याम्पस त्रिविको पुरानो क्याम्पसमध्येकै एक हो ।

Logo