पर्वतमा दश शैयाको नगर अस्पताल सञ्चालन

पर्वतमा दश शैयाको नगर अस्पताल सञ्चालन


फलेवास नगरपालिकामा १० शैयाको नगर अस्पताल सञ्चालन गरिएको छ । नेपाल सरकारको एक पालिका एक अस्पताल कार्यक्रमअन्तर्गत नगरपालिकाले १० शैयाको अस्पताल सञ्चालनमा ल्याएको हो ।

वडा नं ६ देवीस्थानमा रहेको साविक स्वास्थ्यचौकीको भवनबाट अस्पतालको सेवा शुरु गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । गत मङ्सिर १५ गते देशभरका स्थानीय तहमा शिलान्यास भएका अस्पतालमध्ये फलेवासको उक्त आधारभूत अस्पतालले पहिलोपटक पुरानै भवनबाट सेवा सुचारु गरेको हो ।

अस्पतालमा एक डाक्टर, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी रहेका छन् । अस्पताल निर्माण तथा सञ्चालनका लागि नेपाल सरकारले रु १० करोड ६३ लाख सहयोग गरेको तथा आवश्यक सामग्री खरीद गर्न र कर्मचारी व्यवस्थापनका लागि नगरपालिकाले सहयोग गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रुद्र सापकोटाले जानकारी दिए ।

नगर अस्पतालको नगरप्रमुख पदमपाणि शर्माले उद्घाटन गर्दै सेवा शुभारम्भ गरेका हुन् । नगरप्रमुख शर्माले अस्पताल उद्घाटनसँगै नगरपालिका स्वास्थ्य क्षेत्रको नयाँ युगमा प्रवेश गरेको बताए । उनले जनताको स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण भएकाले जनतालाई कसरी स्वस्थ्य राख्ने भन्नेमा नगरपालिका लागि परेको बताए ।

Logo