विद्यालय भवन भत्कियो, विद्यार्थी खुला चौरमा पढ्न बाध्य

विद्यालय भवन भत्कियो, विद्यार्थी खुला चौरमा पढ्न बाध्य


हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाका विद्यार्थी खुला चौरमा पठनपाठन गर्न बाध्य भएका छन् । 

गत वर्ष बर्खाको समयमा बाढीपहिरो आउँदा विद्यालयको भवन भत्किएपछि कक्षा कोठा मर्मत हुन नसक्दा यहाँका विद्यार्थी चौरमा अध्ययन गर्न बाध्य भएका हुन् । लामो समयको कोरोना कहरपछि पठनपाठन सुरु भए पनि विद्यालयमा विद्यार्थी खुला चौरमा अध्ययन गर्दै आएका छन् । 

ताँजाकोट–२ को छप्रेलाको धर्मोदय माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रा विष्णुदेवी शर्माले भनिन्, “कोरोनाको त्रासपछि विद्यालयमा पठनपाठन सुरु भए पनि कक्षा कोठा नहुँदा दैनिक चौरमा अध्ययन गर्नु परेको छ” । चर्को घाम लागेका बेला अध्ययन गर्न शिक्षक र विद्यार्थी दुवैलाई कठिन हुने शर्माले गुनासो गरिन् ।
     
बर्षाको पहिरोपछि अधिकांश विद्यालयका भवनमा क्षति पुगेकाले विद्यार्थीले चौरमा अध्ययन गर्नु परिरहेको छ। यहाँका अविभावकले सरोकारवाला निकायलाई अनुरोध गरे पनि कुनै सुनुवाइ हुन नसकेको बताइएको छ। पानी परेका दिन पठनपाठन बन्द गर्नु पर्ने बाध्यता छ भने कक्षा ६, ७, ११ र १२ का विद्यार्थीले खुला चौरमा पठनपाठन गर्दै आएका छन् । कक्षा ८, ९ र १० का विद्यार्थी भने क्षति पुगेकै भवनमा जेनतेन अध्ययन गर्दै आएका छन् । 

विद्यालयमा ४५० विद्यार्थी अध्ययनरत छन् । विद्यालय भवन निर्माणका लागि प्रदेश र सङ्घीय सरकारबाट बजेटको व्यवस्था भए पनि स्थान छनोट हुन नसकेको कारण निर्माण कार्य अगाडि बढ्न सकेको छैन।रासस

Logo