आजदेखि चार दिन शिक्षण संस्था बन्द

आजदेखि चार दिन शिक्षण संस्था बन्द


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमण्डलमा देखिएको अस्वाभाविक वातावरणका कारण प्रतिकूल असर पर्न सक्ने देखिएकाले आजदेखि चैत २० गते शुक्रबारसम्मका लागि सबै शिक्षण संस्था बिदा दिने निर्णय गरेको छ। 

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको हो। बैठकमा मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए। 

बैठकमा शिक्षासचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा हरि लम्साल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याल लगायतको थियो। 

बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए। लगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौं विद्यार्थीमा हुनसक्ने स्वास्थ्य प्रतिकूलताको कारण सबै शिक्षण संस्था बन्द गर्नुपरेको बताए।  

२१ गते शनिबार भएकाले अब २२ गते मात्र विद्यालयहरु संचालन हुने भएका छन् । समय प्रतिकूलताको अवस्था हेरेर थप निर्णय हुने पनि मन्त्रालयले जनाएको छ ।

Logo