सहरी क्षेत्रका विद्यालय वैशाख महिनाभरि बन्द (भिडियो)

सहरी क्षेत्रका विद्यालय वैशाख महिनाभरि बन्द (भिडियो)


हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये सरकारले सहरी क्षेत्रका विद्यालयहरू बैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विद्यालयहरु बैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको हो। 
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शनिबार बसेको बैठकले बैशाख महिनाभर शहरी क्षेत्रका विद्यालय बन्द गर्न र वैकल्पिकरुपमा पठनपाठन गराउन सिफारिस गरे अनुसार आज बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो। 

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जीत हात पारेको छ। मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपालले लगातर दोस्रो जीत निकालेको हो। मलेसियाले दिएको १ सय १० रनको सामान्य लक्ष्य नेपालले १२ ओभर १ बलमा १ विकेटको क्षतीमा पूरा गरेको हो। नेपालको जीतका लागि कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेल्दै नायक बने ।

सरकारले मङ्गलबारदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउने भएको छ। गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप दिन लागिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए। उनका अनुसार उक्त अवधिमा पहिलो मात्रा खोप लगाएका व्यक्तिले यही वैशाख ७ देखि ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउने छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा हिटलर प्रवृति रहेको टिप्पणी गरेका छन्। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाई दिन सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीतर्फ सङ्केत गर्दै प्रधानमन्त्री ओलीले अपनाएको शैली हिटलरी भएको बताएका हुन्। यस्तै प्रधानमन्त्री बनाउन जसले भर्याङ चढाए उसैलाई ओलीले लात हानेर सडकमा पु¥याइदिएको पनि नेपालले टिप्पणी गरे।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी (जसपा)का चार प्रदेशसभा सांसदलाई समेटेर मन्त्रिमण्डल  पुनर्गठन गरेका छन्। आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन र बाँकी एक गरी जसपाका चार प्रदेशसभा सदस्य मन्त्री नियुक्त भएका हुन्। आजै मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव समेत दर्ता भएको छ। माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरी अविश्वासको प्रस्ताव दर्ता भएको लुम्बिनी प्रदेश संसद सचिवालयले जनाएको छ।

Skip This
Logo