नेपालमा सक्रिय सङ्क्रमित १२ हजारभन्दा बढी, अस्पतालमै जोखिम

नेपालमा सक्रिय सङ्क्रमित १२ हजारभन्दा बढी, अस्पतालमै जोखिम


नेपालमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रण हुन सकेको छैन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार ४२८ जना व्यक्ति सङ्क्रमित भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या नै १२ हजारभन्दा बढी भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार १० हजार एक जनाको पीसीआर विधिबाट परीक्षण गर्दा दुई हजार ३६५ जना र ४४७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस्तै बिहीबार थप पाँच जना सङ्क्रमितको मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार २५२ जना सङ्क्रमित निको भएका छन् । त्यसैगरी राजधानीभित्रका जिल्ला काठमाडौँमा ९८७, ललितपुरमा १०६ र भक्तपुरमा ८१ जना गरी एक हजार १७४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार ६९० पुगेको छ भने क्वारेन्टाइनमा ८१ जना रहेका छन् । त्यसैगरी देशभरका विभिन्न अस्पतालका आईसीयूमा १७० र भेन्टिलेटरमा ५९ जना उपचाररत छन् । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ११७ पुगेको छ।

अस्पतालमै जोखिम
कोरोना सङ्क्रमण बढ्न थालेपछि अस्पतालको जनशक्तिमा समेत जोखिम बढेको छ ।राजधानीको वीर अस्पतालमा कार्यरत ६ जना चिकित्सकसहित १७ जना नर्स तथा स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये केहीलाई यसअघि पनि कोरोना सङ्क्रमण भएको थियो । 

सङ्क्रमित हुनेमध्ये अधिकांशले पहिलो चरणको कोरोनाविरुद्धको खोप पनि लगाएका थिए ।
वीर अस्पताल कोभिड फोकल पर्सन डा. अच्युत कार्कीले सङ्क्रमितमध्ये ६ जना चिकित्सक रहेको बताए। उनले सबैभन्दा बढी कोभिड आईसीयूमा कार्यरत चिकित्सक, नर्सलाई कोरोना देखिएको जानकारी दिए । यस्तै फार्मेसीमा कार्यरत फर्मासिस्ट, पारामेडिक्ससमेतलाई कोरोना पुष्टि भएको छ । 

कोभिड फोकल पर्सन डा. कार्कीले तीमध्ये केही वीर अस्पतालमै उपचाररत रहेको बताए। वीर अस्पतालको कोभिड आइसोलेसन सेन्टरमा ३५ जना कोरोना सङ्क्रमित उपचारमा रहेका छन् । तीन जना भेन्टिलेटरमा र आठ जना आईसीयूमा रहेका छन् ।गाेरखापत्रबाट

Logo