आईएसटी कलेजका विद्यार्थीद्वारा दैनिक २ सय मजदूरलाई निःशुल्क खाना

आईएसटी कलेजका विद्यार्थीद्वारा दैनिक २ सय मजदूरलाई निःशुल्क खाना


नेपाल कोरोना महामारीको दोस्रो लहरले करिब दुई महिनादेखि आक्रान्त छ। संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत वैशाख १६ गतेदेखि असार ७ गतेसम्म निषेधाज्ञा जारी रहेको छ ।

निषेधाज्ञाका कारण अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द छन्। बन्द भएकाले विभिन्न क्षेत्रमा दिनभरी काम गरेर बिहान बेलुका दुई छाक टार्ने मजदूर करिव दुई महिना निषेधाज्ञा हुँदा ठूलो समस्यामा परेका छन् । 

काम नपाएर सडकमा भोकै बस्ने मानिसहरुको लागि विभिन्न संघसंस्था तथा व्यक्तिगतरुपमा निःशुल्क खाना खुवाउँदै आएका छन्। यस्तै समस्यामा परेकाहरुलाई पछिल्लो १४ दिनदेखि इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आईएसटी) कलेजका दुई विद्यार्थीहरु मिलेर काठमाडौं  उपत्यकाका विभिन्न स्थानमा पुगेर खाना खुवाउँदै आएको कलेजका विद्यार्थी तथा अभियन्ता विक्रमसिंह कार्कीले बताए।

उनका अनुसार पछिल्लो १४ दिनदेखि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पुगेर दैनिक २ सय बढी सडकमा भोकले ब्याकुल मानिसहरुलाई खाना खुवाएका छन्। ‘चार जनाको टिमले दैनिक १५० देखि २०० जनालाई खाना बनाएर आफ्नै गाडीमा उपत्यकाका विभिन्न १० स्थानमा पुगेर मानिसहरुलाई खाना दिँदै आएका छौं।’ 

उनले भने, विश्व व्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण कोही भोकै बस्नु नपरोस् र रोगसँगै भोकले कोहीले ज्यान गुमानु नपरोस भनेर आईएसटी कलेजको समेत सहयोगमा यो अभियान सञ्चालन गरिएको उनको भनाई छ ।

यो अभियानमा आईएसटी कलेजमा अध्ययनरत सविता खड्का, विक्रमसिंह कार्कि लगायतका विद्यार्थी छन्। उनीहरुले अहिलेसम्म करिव ३ हजार जनालाई खाना खुवाइसकेका छन्।

यो अभियान चलाउनका लागि आईएसटी कलेजको सहयोग रहेको छ। कलेजका विद्यार्थीहरुले कलेजमा विभिन्न कार्यक्रमहरु गर्दा संकलन भएको रकम र बाँकी कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्ने रकम विद्यार्थीहरुको यस अभियानमा सहयोग गरेको कलेजकी प्रिन्सिपल सम्झना बस्नेतले बताइन्। 

प्रिन्सिपल बस्नेतले भनिन्, कोभिड १९ को दोस्रो लहरको विषम परिस्थितिमा कलेजले आर्थिक सहयोग गरेर विद्यार्थीहरुको अभियानलाई साथ दिएको छ। यो महामारीमा समस्यामा परेकालाई सहयोग गर्नु कलेजको पनि उत्तरदायित्व रहने भएकाले सानो सहयोग गरेका हौं।

Logo