ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा यसै वर्षदेखि तामाङ भाषाको शिक्षा लागू हुँदै

ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा यसै वर्षदेखि तामाङ भाषाको शिक्षा लागू हुँदै


ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा यसै शैक्षिक सत्रबाट तामाङ भाषामा शिक्षा लागू हुने भएको छ । बुधबार बसेको कार्यपालिका बैठकले गाउँपालिकाको शिक्षा समितिको सिफारिसमा तामाङ मातृभाषाको शिक्षा लागू गर्ने निर्णय गरेको हो। 

यो निर्णय भएसँगै अब पुस्तक छापेर छिट्टै कक्षा शुरु गरिने गाउँपालिका अध्यक्ष गोपिलाल सिङतानले जानकारी दिए । गाउँपालिकाभित्र रहेका सबै विद्यालयमा यस वर्ष कक्षा १ बाट पठनपाठन शुरु गर्ने अध्यक्ष सिङतानले बताए। उनका अनुसार गाउँपालिकाभित्र ३ उच्चमावि, ३ मावि र ११ वटा आधारभूत गरि १७ वटा विद्यालय छन् । सबै विद्यालयमा तामाङ विद्यार्थीको बाहुल्यता रहेकोले संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्न गाउँपालिकाले यहि शैक्षिक सत्रबाट पठनपाठन गर्न लागेको उनको भनाइ छ । 

७ सय ५३ वटा स्थानिय तहमध्ये कोन्ज्यसोम गाउँपालिका तामाङ भाषामा शिक्षा लागू गर्ने पहिलो गाउँपालिका हुने भएको छ । गाउँपालिकाले सबै विद्यालयका एक÷एक जना गरी १७ जना शिक्षकलाई पठनपाठनका लागि यसअघि नै तामयिग लिपिको तालिम दिइसकेको छ । 

गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद आचार्यले भनेका छन् ‘सबै विद्यालयमा तामाङ भाषामा कक्षा १ को शिक्षा लागू गर्ने गाउँ कार्यपालिकाले निर्णय गरेको छ। अब छिट्टै कार्यान्वयनमा लैजान्छौं।’ उनका अनुसार सम्भव भएसम्म दरबन्दी नै सिर्जना गरेर जाने कि भन्ने विषयमा पनि अनौपचारिक छलफल भएको छ। शिक्षकलाई तालिम, पाठ्यपुस्तक निर्माणलगायतका काममा नेपाल तामाङ घेदुङले समन्वय गरिरहेको छ । 

तालिम दिने तथा पाठ्यापुस्तक निर्माणको भूमिका निर्वाह गरिरहेका प्रतिक तामाङले तामाङ बाहुल्यता रहेको गाउँपालिकाका सामुदायिक विद्यालयका बालबालिकाले मातृभाषामा शिक्षा पाउने सुनिश्चित भएकोमा आफूलाई खुशी लागेको बताएका छन् । यसका लागि नयाँ पाठ्यक्रम अनुसार नयाँ पाठ्यपुस्तकसमेत तयार भइसकेको उनले जानकारी दिए । संविधान तथा स्थानीय सरकार सञ्चालन ऐनले प्रदान गरेको आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षासम्बन्धी अधिकार कार्यान्वयन गर्ने सवालमा कोन्ज्योसोम गाउँपालिकाले देशभरिका स्थानीय तहलाई नयाँ उदाहरण प्रस्तुत गरेको तामाङको भनाई छ । अर्का तामयिग लिपिका प्रशिक्षक मोहनकुमार योन्जनले शिक्षा लागु गर्ने निर्णय भएकोमा शिक्षा समितिका सदस्यहरु, कार्यपालिका सदस्यलगायत प्रमुख तथा उपप्रमुखमा धन्यवाद ब्यक्त गरेका छन्। 

नेपाल तामाङ घेदुङले भाषा आयोगसमेतको प्राविधिक सहयोगमा अहिले स्थानिय तहहरुलाई संविधानले दिएको बालबालिकाको मातृभाषामा शिक्षा पाउने अधिकार सुनिश्चत गर्न अनुरोध गर्दै आएको छ भने कोन्ज्योसोम बाहेक काभ्रेको रोशी गाउँपालिका, मण्डनदेउपुर नगरपालिका, नुवाकोटको किस्पाङमा लिपिको तालिम दिइसकेको छ । हाल बाराको निजगढ नगरपालिकामा तालिम सञ्चालन भइरहेको अध्यक्ष मोहन गोलेले जानकारी दिए।  

Logo