साउन ३१ बाट कक्षा १२ को परीक्षा हुने (भिडियोसहित)

साउन ३१ बाट कक्षा १२ को परीक्षा हुने (भिडियोसहित)


हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने तयारी गरेको छ। बोर्डको निर्णय अनुसार साउन ३१ गते बिहीबारदेखि परीक्षा सुरु हुनेछ। भदौ ९ गतेसम्म सञ्चालन हुने परीक्षामा विद्यार्थीहरूले होम सेन्टर (आफ्नै विद्यालय)बाट परीक्षा दिन पाउनेछन्। भौतिक दूरी कायम राख्दै स्वास्थ्य सुरक्षाको उपाय अपनाउँदै परीक्षा लिने व्यवस्था मिलाउनसमेत बोर्डले निर्देशन दिएको छ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेसँगै संसदका विभिन्न समितिहरूमा विचारधिन विधेयकहरू अलपत्र परेका थिए। तर, सर्वोच्चले संसद पुर्नस्थापना गरेसँगै यसअघि निष्क्रिय बनेका विधेयकले पुनर्जीवन पाएका छन्। तर, प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा समितिमा विचाराधिन विधेयकहरुको काम कार्वाही प्रभावित बनेको छ। 

जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षद्वारा संसदीय दलको विधान सुझावसहित पारित गरेको छ। मंगलबार बसेको पार्टीको बैठकले संसदीय दलको विधानलाई मुख्य एजेण्डा बनाएको र नयाँ सरकारमा सहभागी बन्ने मन्त्रीहरुको बारेमा भने कुनै छलफल नगरेको पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले बताएका छन्। यद्यपि सांसदहरूले अहिले मन्त्रीहरूको टुंगो नलागे पनि केही समयपछि सरकारमा सहभागी भने हुने प्रष्ट पारेका छन्।

कोरोनाले खेलकुद गतिविधिलाई ठप्प पारेसँगै खेलकुद संरचनामा पनि प्रयोगमा आउन सकेका छैनन्। दुई वर्षदेखी सिमित मात्र खेलकुद गतिविधि हुँदा केही संरचनामा मात्र प्रयोगमा आएका छन् भने केही संरचना कोरोना महामारी फैलिएसँगैै थलिएका पनि छन्। नेपाली खेलकुदको सर्बोच्च निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आफू मातहतमा रहेका संरचना धेरै स्थानमा व्यवस्थित भएको दावी गरेको छ।

चन्द्रमामा मानिसले पहिलो पाइला राखेको ५२ वर्ष पूरा भएको छ। २० जुलाई १९६९ मा अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको मानवसहितको यान ‘अपोलो ११’ ले चन्द्रमाको सतहमा सफल अवतरण गरेको थियो। अवतरणको ६ घण्टा ३९ मिनेटपछि यानमा सवार अन्तरीक्षयात्री निल आर्मस्ट्रंगले र त्यसको १९ मिनेटपछि अर्का अन्तरीक्षयात्री बज एल्ड्रिनले चन्द्रमामा पाइला राखेका थिए।

Logo