अधिकारीको ‘राणाकालीन शिक्षा’ सार्वजनिक

अधिकारीको ‘राणाकालीन शिक्षा’ सार्वजनिक


शिक्षा पत्रकार प्रकृति अधिकारीले राणाकालमा स्थापना भएका विद्यालयबारे लेखिएको पुस्तक ‘राणाकालीन शिक्षा’सार्वजनिक भएको छ ।

अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा बुधबार शिक्षा, विज्ञान तथा प्रविधि सचिव रामप्रसाद थपलिया, मन्त्रालयका सहसचिव दीपक शर्मा र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन् । 

राणाकालको १०४ वर्षको अवधिमा शिक्षाको विकासक्रमका बारेमा खोज मूलक तथा ऐतिहासिक सामग्रीसहितको पुस्तकमा राणाकालीन शैक्षिक लिखत, दस्तावेज आदि समावेश गरिएका छन् ।

लेखक अधिकारीले पुस्तकमा राणाशासन कालमा नेपालका शिक्षाको अवस्थाको बारेमा लेखिएको बताए । यसअघि उनले ‘एसएलसीको इतिहास’नामक पुस्तक २०७४ सालमा प्रकाशित गरेका थिए ।

निरंकुश शासकले शिक्षालाई कसरी भित्र्याए र उच्च शिक्षासम्म जनताको पहुँचमा किन र कसरी पुर्‍याए भन्ने बेलीबिस्तार पुस्तकमा गरिएको छ । 

पुस्तकमा दरबार हाइस्कुलका शिक्षक र उनको खान्की, भाषा पाठशाला स्थापना भएका स्थान र नियुक्त शिक्षकहरूको फेहरिस्त, एसएलसी बोर्डका पहिलो परीक्षा नियन्त्रकको नियुक्ति, एसएलसी परीक्षामा सम्मिलित हुन आवेदन फाराम भरेकी पहिलो छात्रा, पाठ्य पुस्तक सम्बन्धी गरिएको व्यवस्था, चन्द्रशमशेरको निधनपछि उनको दराजबाट झिकिएको लिखत आदिका बारेमा उल्लेख गरिएको पाइन्छ । 

यस्तै पुस्तकमा कन्या शिक्षा, कला पाठशाला, पौढ शिक्षा, स्रेस्ता पाठशाला र पास जाँच अड्डा लगायत विभिन्न १५ विषयमा लेखिएको छ ।

Logo