चन्द्रागिरि नगरपालिकाले असोज १ देखि विद्यालय खुलाउने

चन्द्रागिरि नगरपालिकाले असोज १ देखि विद्यालय खुलाउने


चन्द्रागिरि नगरपालिकाले गत वैशाख दोस्रोदेखि महामारीका कारण  बन्द रहेका विद्यालय असोज १ गतेदेखि खुलाउने भएको छ। 

नगरप्रमुखस्तरीय बैठकले जनस्वास्थ्यको  मापदण्ड कायम गरि विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको नगर शिक्षा अधिकृत सुदर्शन रिजालले जानकारी दिए। पन्ध्र वडा रहेको सो नगरपालिकाभित्र निजी र सामुदायिक गरि ८० विद्यालय छन्। काठमाडौँको गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाले विद्यालय सञ्चालन गरिसकेका छन्।

असोज पहिलो सातादेखि विद्यालय खुलाइने 

दमकः कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका दमकका विद्यालय आगामी असोजको पहिलो सातादेखि खुलाइने भएको छ।

कोरोनाको जोखिम केही कम भएको जनाउँदै दमक नगरपालिकाले आफ्ना मातहतमा रहेका शैक्षिक संस्थालाई विद्यालय सञ्चालन गर्न निर्देशन दिएको शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेले जानकारी दिए। 

नगरपालिकाले विद्यालय सञ्चालनका लागि निजी तथा संस्थागत विद्यालयका प्रधानाध्यापकसँग सुुझाव माग गरेको थियो। सोही सुझावका आधारमा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको उनले जानकारी दिए।

शाखा प्रमुख न्यौपानेले विद्यालय सञ्चालनसम्बन्धी कार्यविधि २०७७ अनुसार विद्यालय सञ्चालन गरिने  बताए। कार्यविधिमा कक्षाकोठामा विद्यार्थी राख्दा अनिवार्य भौतिक दूरी कायम गराउनु पर्ने, मास्कको प्रयोग गराउनु पर्ने, विद्यालयका हरेक कक्षाकोठा अगाडि हात धुने व्यवस्था गरिनु पर्ने, भीडभाड र जम्मा हुन नदिन आलोपालो पद्धतिद्वारा पठनपाठन गराउनु पर्ने लगायतका छन्।  

यसका लागि नगरपालिकाले निरन्तर अनुगमन गर्ने पनि उनले बताए। जोखिमको अवस्था हेरेर विद्यालय कसरी सञ्चालन गर्ने वा बन्द गर्ने भन्नेबारेमा विद्यालय आफैँले पनि निर्णय लिन सक्ने पनि शाखा प्रमुख न्यौपानेले जानकारी दिए।

Logo