सहरका विद्यार्थीले रोजे गाउँको विद्यालय

सहरका विद्यार्थीले रोजे गाउँको विद्यालय


कास्कीको पोखरास्थित शीतलादेवी माविमा कक्षा आठ पढ्दै आएका अन्नपूर्ण गाउँपालिका–६ घारका नबराज बरुवाल प्रभा माविमै नौ कक्षा पढ्न आएका छन् । गाउँ नजिकैको विद्यालयमा आफूले रोजेको विषय पढ्न पाएकोमा बरुवाल खुसी छन् ।

“आफैँ स्वरोजगार बन्ने सीपसहितको व्यवहारिक शिक्षा पढ्न  यहाँ आएको हुँ”, बरुवाल भन्छन्, “गाउँमा भएर के भो र ? सहरको विद्यालयकै जस्तो सेवा सुविधा छ ।” बरुवालले जस्तै चितवनको भानु माविबाट कक्षा ६ उत्तीर्ण गरेका महर पुन कक्षा सात पढ्न म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित प्रभा माविमा भर्ना भएका हुन् । उनी पनि सहरको विद्यालय छाडेर गाउँमा पढ्न आएका हन् ।  

पछिल्लो समय सहर बजारका विद्यालय छाडेर ग्रामीण क्षेत्रको प्रभा माविमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । विद्यालयका सहायक प्रधानाध्यापक विष्णुप्रसाद पोखरेलका अनुसार ३०० मध्ये १०० विद्यार्थी अन्यत्रबाटै आएका छन् । “विद्यार्थी र बालमैत्री शिक्षण विधि, प्रविधिको प्रयोग, अङ्ग्रेजी माध्यम, प्रयोगात्मक शैलीमा र प्राविधिक विषयको पठनपाठन गराउन थालेपछि विद्यार्थीको चाप बढेको छ”, उहाँले भन्नुभयो, “तीन वर्षअघि १३५ विद्यार्थी थिए, हाल विद्यार्थी सङ्ख्या बढ्दै गएको छ ।” 

बेनी, पोखरा, चितवन, काठमाडौँ, बागलुङ, कुश्मालगायत सहरी क्षेत्रका निजी र सामुदायिक विद्यालयका विद्यार्थी प्रभा माविमा पढ्न आउने गरेका छन् । 

Logo