हनुमाननगर कंकालिनी नगरपालिकाले कक्षा ११ मा पढ्ने सबै छात्राको अध्ययन खर्च व्यहोर्ने

हनुमाननगर कंकालिनी नगरपालिकाले कक्षा ११ मा पढ्ने सबै छात्राको अध्ययन खर्च व्यहोर्ने


जिल्लाको शिक्षाको अवस्था दिनप्रतिदिन खस्किँदै गएको बेला सप्तरी हनुमाननगर कंकालिनी नगरपालिकाले कक्षा ११ मा अध्ययन गर्ने छात्राको पढाइ खर्च व्यहोर्ने घोषणा गरेको छ। 

‘नगरपालिकाले यो निर्णयले सबै छात्राहरू पढ्न पाउने भएका छन्’, पूजाकुमारी रजकले भनिन्, ‘मैले एसईई पास गरेँ, बुबाआमाले अहिलेसम्म पैसा लागेन, पढिस्, अब लाग्छ पढाउन सक्दिनँ भन्नु भएको थियो। अब नगरपालिकाको निर्णयले पढ्न पाइयो।’ 

खासगरि मध्यम, विपन्न, दलित तथा मुस्लिम समुदायका छात्राहरू अहिले पनि शिक्षाबाट बञ्चित रहेका र नगरपालिकाको सो निर्णयले उनीहरू शिक्षाको पहुँचमा आउने विश्वास नगरपालिकाको छ। 

आर्थिक अभावका कारण छात्राहरूले एसईई पास गरे पनि उच्च शिक्षा अध्ययन गर्नबाट बञ्चित रहेका बेला नगरपालिकाले नगरभित्रका छात्राको कक्षा ११ को रजिस्ट्रेशन, परीक्षा आवेदन र मासिक शुल्कसहित सम्पूर्ण पढाइ खर्च  व्यहोर्ने निर्णयले स्थानीयवासी खुसी भएका नगरपालिकाका श्रीराम दासले बताए। 

उच्च शिक्षा अध्ययन गर्ने छात्राको संख्या न्यून  देखिएकाले छात्रालाई उच्च शिक्षामा पहुँच बढाउन नगरसभाबाट निर्णय गरेर यस वर्षदेखि व्यवहारमा कार्यान्वयन गर्ने भएपछि स्थानीयवासीमा खुसी छाएको स्थानीय रूवी मिश्रा बताउँछिन्। 

नगर प्रमुख शैलेश कुमार साहले छात्रालाई सिटीईभीटीअन्तर्गतका कलेजमा पढ्न लाग्ने खर्चको ५० प्रतिशत खर्चसमेत नगरपालिकाले व्यहोर्ने जानकारी दिए। 

‘शिक्षित छोरी, सुरक्षित छोरी’ नाराका साथ छात्रालाई निःशुल्क पढाउने सुरूवात गरेको प्रमुख साहले बताए। छोरी शिक्षत नभएसम्म कुनै पनि क्षेत्रमा सुरक्षित नहुने उनको बुझाइ छ।

Logo