व्यक्तिगत चाहना सम्बोधन गराउने दबाबहरू आउँछन्: शिक्षा मन्त्री पौडेल

व्यक्तिगत चाहना सम्बोधन गराउने दबाबहरू आउँछन्: शिक्षा मन्त्री पौडेल


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले ठूल्ठूला व्यक्तिहरुको व्यक्तिगत चाहना सम्बोधन गराउने खालका राजनीतिक दबाबहरू आफूमाथि आउने गरेको खुलासा गरेका छन् ।

मन्त्री पौडेलले माथिल्लो तहबाट बेलाबेलामा बोलाउने गरेको र जाँदाखेरी शैक्षिक प्रणाली सुधार्ने भन्दापनि ठूल्ठूला व्यक्तिहरुको व्यक्तिगत चाहना सम्बोधन गराउने गरी दबाब आउने गरेको बताएका हुन् । सत्तारुढ दलका विद्यार्थी संगठनका नेताहरूसँग बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भएको सामूहिक भेटमा उनले आफूले ती राजनीतिक दबाबहरूलाई पदमा रहुन्जेल प्राथमिकता नदिने प्रतिबद्धता समेत व्यक्त गरे । मन्त्री पौडेलले आफ्नो पहिलो पहलकदमी सार्वजनिक शिक्षाको सुधारमा केन्द्रित हुने योजना पनि सार्वजनिक गरे । उनले निजी क्षेत्रको नियमन गर्ने र प्राविधिक शिक्षालाई परिणाममुखी बनाउन समेत आफू लागिपर्ने बताउनु बताए । मन्त्री पौडेलले भने, ‘पोलिटिकल प्रेसर पनि शिक्षा प्रणाली सुधार्नेभन्दा ठूल्ठूला वरिष्ठ व्यक्ति र व्यक्तित्वहरूको चाहना बढी भएको आउँछ । बोलायो, दौडँदै गयो । केही कुरा भन्नु हुन्छ कि भन्यो, चाहना अर्कै छ । तर मैले तपाईँहरूलाई के प्रतिबद्धता व्यक्त गर्दछु भने ती म यो पदमा रहुन्जेल प्राथमिकताका विषय हुँदैनन् । यति भनेपछि बुझ्ने भयो नि । अहिले मेरो प्राथमिकताको विषय भनेको सार्वजनिक शिक्षालाई म यहाँ रहँदासम्म सुधार गर्ने, अगाडि बढाउने । निजी क्षेत्रको बारेमा सरकारले नै पोलिसी ल्याएको हुनाले निजी क्षेत्रलाई पनि नियमन गर्ने र सँगै लिएर जाने । उसलाई नीति दिने, नियमन गर्ने । सार्वजनिकलाई सुधार गर्न जोड दिन पहलकदमी गर्ने हाम्रो जोड हुनेछ ।’

मन्त्री पौडेलले ‘राष्ट्रपति शैक्षिक कार्यक्रम’ र ‘पढ्दै: पढाउँदै कार्यक्रम’ तत्काल अघि बढाउने गरी तयारी भइरहेको र त्यसमा आवश्यक सुझाव दिन विद्यार्थी संगठनका नेताहरूलाई आग्रह गरेका छन् । छलफलमा सत्तारुढ दलमा आबद्ध नेपाल विद्यार्थी संघका सभापति राजीव ढुंगानाले निजी क्षेत्रले जथाभाबी शुल्क विद्यार्थीहरूबाट असुली रहेको उल्लेख गर्दै तत्काल नियन्त्रण गर्न मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए भने अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सार्वजनिक क्षेत्रको शैक्षिक सुधारको कार्यक्रमलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिन आग्रह गरेकि छन् ।

मन्त्री पौडेलसँगको भेटमा सत्तारुढ दलमा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैठौंका सूर्य पौडेललगायतका नेताहरू सहभागी रहेका थिए ।

Logo