नेपालमा पहिलो पटक विद्यालयस्तरमा सौन्दर्यकलाको पठनपाठन सुरु हुँदै

नेपालमा पहिलो पटक विद्यालयस्तरमा सौन्दर्यकलाको पठनपाठन सुरु हुँदै


नेपालमै पहिलो पटक विद्यालय स्तरमा सौन्दर्यकलाको पठनपाठन सुरु हुने भएको छ ।

डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयले कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रममा सौन्दर्यकला विषयको पठनपाठन सुरु गर्दैछ। नेपालमा सौन्दर्यका क्षेत्रमा थुर्पै व्यापार व्यवसाय र तालिमहरु भएपनि पाठ्यक्रमकै रुपमा भने पढाई भएको थिएन । पछिल्लो समय मानिसहरुको सौन्दर्यप्रतिको रुची र सचेतता पनि बढ्दै गएको छ ।

सोही कुरालाई मध्यनजर गरी पठनपाठन सुरु गर्न लागेको विद्यालयकी प्रधानाध्यापक रीता तिवारीले बताइन् । पाठ्यक्रम विकास केन्द्र, सौन्दर्य कला व्यवसायी संघ र पद्मकन्या विद्यालयले संयुक्त रुपमा आयोजना गरेको छलफल कार्यक्रममा प्रधानाध्यापक तिवारीले विद्यालय शिक्षा समाप्त भएपश्चात् छात्राहरू आत्मनिर्भर र स्वावलम्बी बन्न सकून् भन्ने उद्देश्यले सम्बन्धित निकायबाट अनुमति लिई सो विषयको पठनपाठन सुरु गरिएको बताइन् ।

उनले सौन्दर्यकला सुरु गर्ने पहिलो विद्यालयका रूपमा स्थापित हुन पाउँदा निकै आभारी भएको बताइन् । कार्यक्रममा सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठले आफूले सौन्दर्यकलालाई पाठ्यक्रममा समावेश गराउन निकै संघर्ष गरेको र सफल भएको बताउँदै खुसी व्यक्त गरेकी छन् । यस क्षेत्रमा दसकौँ बिताएकी श्रेष्ठले सौन्दर्य कलामा प्रवेश गरेको सुरुवाती दिनहरूमा आफू समाज र आफन्तबाटै अपहेलित हुनुपरेकाले आगामी दिनमा कुनै महिला र छात्रालाई आत्मनिर्भरताको बाटो रोज्दा समस्या नआओस् भन्ने हेतुले आफू यसलाई स्थापित गरेरै छोड्ने अठोटमा अघि बढेको बताइन् ।

उनले सौन्दर्यकला अनुहार सजावटको विषय मात्र नभएर यो ज्ञान र शास्त्र भएको बताइन् । नेपालमा सौन्दर्यकला स्थापित गर्ने प्रयास जारी रहेको र आगामी दिनहरूमा थप कार्यक्रम र अन्तरक्रिया गर्दै यसलाई व्यवस्थित रुपमा अघि बढाउनेमा आफू लागि परिरहने उनले बताइन् । छलफलमा उपस्थित पाठ्यक्रम विकास केन्द्रका शाखा अधिकृत खिलानाथ धमलाले संघ र विद्यालयको यो प्रयास निकै फलदायी रहेको बताएका छन् ।

Skip This
Logo