काठमाडौंमा शुक्रबारदेखि ‘सातौँ कान्तिपुर हिसान एडुफेयर’ हुने

काठमाडौंमा शुक्रबारदेखि ‘सातौँ कान्तिपुर हिसान एडुफेयर’ हुने


काठमाडौंमा शुक्रबारदेखि बृहत शैक्षिक मेला सातौँ कान्तिपुर हिसान एडुफेयर २०२२ हुने भएको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्स प्रालिको संयुक्त आयोजनामा हुने शैक्षिक मेला चार दिनसम्म चल्नेछ । 
नेपालमा सञ्चालनमा रहेका शैक्षिक संस्था र गुणस्तरीय शिक्षाबारे जानकारी दिने उद्धेश्यले विगत ६ वर्षदेखि शैक्षिक मेला आयोजना हुँदै आएको छ । यो वर्ष भने प्लस(टू का रुपमा मेला अयोजना हुने आयोजकको भनाइ छ । 

मेलामा विद्यार्थी तथा अभिभावकले नेपालमा सञ्चालित शिक्षालयबारे उचित जानकारी एवं परामर्श पाउनेछन् । विषय छनोट, शैक्षिक संस्था छनोटलगायतमा विद्यार्थी र अभिभावकमा कायम द्विविधा अन्त्य हुने विश्वास आयोजकको छ ।

शैक्षिक जानकारी नहुँदा वर्षेनी हजारौंको संख्यामा विद्यार्थीहरु बाहिरिने क्रम जारी रहेको र रकम समेत बाहिरिएकाले ६ वर्षयता मेलाको आयोजना गर्दै आएको हिसानका संयोजक युवराज शर्माले बताए । यसले शिक्षा प्राप्तीका लागि बाहिरिरहेको ठूलो धनराशी नियन्त्रणमा सहयोग पुग्ने र गुणस्तरीय शिक्षाका लागि विद्यार्थी, अभिभावक र शिक्षकलाई एकै छानामुनि ल्याउन मेला उपयोगी हुने शर्माको दाबी छ । 

हिसानका संयोजक युवराज शर्माले तीन दशकको अनुभवलाई हेर्ने हो भने नेपालमा शैक्षिक सुधार सम्भव रहेको बताउँदै कोरोना महामारीले पनि शैक्षिक क्षेत्र सुधारमा भूमिका खेलेको दाबी गरे । प्रविधियुक्त शिक्षाले नेपालको शैक्षिक प्रणालीलाई विदेशीसँग तुलना गर्न योग्य बनाएको शर्माको भनाइ छ । 

हिसान अध्यक्ष रमेशकुमार सिलवालले शिक्षा राष्ट्रको मेरुदण्ड भएकाले गुणस्तरीय शिक्षा प्रदान गर्न  विद्यालयले क्यालेण्डर अनुसार अगाडि बढ्न आवश्यक रहेको बताए । अध्यापन शैलीमा समेत परिवर्तन आवश्यक रहेको उनको भनाई छ । 

कान्तिपुर पब्लिकेशन्सका सीईओ महेश्वर स्वाँरले शिक्षा प्रणाली र गुणस्तरीय शिक्षाको विकासका लागि मेला उपयोगी हुने विश्वास व्यक्त गरे । गुणस्तरीय शिक्षाका लागि विद्यार्थी, अभिभावक र शैक्षिक संस्थाको समान भूमिका हुनु पर्ने बताउँदै उनले गुणस्तरीय शिक्षाका लागि बिदेशिनु भन्दा नेपालमा नै गुणस्तरीय शिक्षा दिने व्यवस्था मिलाउन आवश्यक रहेको धारणा राखे ।

Logo