सातौं कान्तिपुर हिसान एडुफेयर काठमाडौंमा सुरु

सातौं कान्तिपुर हिसान एडुफेयर काठमाडौंमा सुरु


कान्तिपुर पब्लिकेसन्स र माई सेकेन्ड टिचरको संयुक्त आयोजनामा सातौं कान्तिपुर हिसान एडुफेयर २०२२ शुक्रबार सुरु भएको छ । हालै एसईई दिएर बसेका विद्ययार्थीहरुलाई बिशेषगरी ११ र १२ पढ्नका लागि लगायत विविध विषयमा केन्द्रित ‘कान्तिपुर हिसान एडुफेयर’ काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु भएको हो । मेलामा ७५ भन्दा बढी स्टल छन् । एसईईपछि विद्यार्थीमा देखिने द्विविधा अन्त्यका लागि मेलाको आयोजना गरिएको आयोजकको दाबी छ । मेलामा उच्च शिक्षाका लागि उपयुक्त कलेजबारे जानकारी, उपयुक्त विषयको छनोट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शिक्षालगायतबारे जानकारी दिइने आयोेजकले जनाएका छन् । 

शैक्षिक मेलाको उद्घाटन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले गरे । राज्यमन्त्री श्रेष्ठले यो वर्षमात्र १ लाख १५ हजार विद्ययार्थीहरुले नो अब्जेक्सन लेटर लिएर बाहिर पढाई गर्न जान लागेको र ६५ हजार भन्दा बढीले त अस्ट्रेलियाका लागि मात्र निवेदन दिएको जानकारी दिँदै यो विषय निकै गम्भीर रहेको र सरकार तथा हिसानले यो विषयमा कसको कमजोरी हो त्यो पत्ता लगाउन पर्ने बताए । यो वर्ष शिक्षामा ११ प्रतिशत लगानी भएको र यो अन्य क्षेत्रमा भन्दा कम नभएको श्रेष्ठको दाबी छ । वर्षमा पाँच लाख युवा बाहिरिने तर एक लाख युवालाई पनि रोजगार उपलब्ध गर्न नसक्नु बिडम्बना भएको बताउँदै उनले यस्तो कुरालाई रोक्न सीपमुलक शिक्षाको आवश्यकता औल्याए ।  

उद्घाटन सत्रलाई सम्बोधन गर्दै कार्यक्रमका संयोजक युवराज शर्माले विद्यार्थी, अभिभावक तथा सरोकारवालाले शिक्षण संस्था, विषय, पठनपाठन पद्धति छनोट, भर्ना मापदण्डलगायतका विषयका बारे स्टलबाट जानकारी लिन सक्ने बताए । मेला आयोजना गर्नुको मुख्य उद्धेश्य नेपालमै सञ्चालित शिक्षालयहरूले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा सत्यतथ्य र यथार्थ जानकारी गराउनु रहेको उनको भनाइ थियो । 

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा, कान्तिपर पब्लिकेसनका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँर, आयोजक समितिका संयोजक युवराज शर्मा, प्याब्सनका वरिष्ठ उपाध्यक्ष किशोर गौतम लगायतको उपस्थिति थियो । चार दिनसम्म चल्ने मेलाको प्रवेश निशुल्क छ । मेलामा करिब दुई लाखले अवलोकन गर्ने अनुमान आयोजकको छ । 

 
 

Logo