रुकुम पश्चिमको आठबीसकोटमा ३९ घर पहिरोको उच्च जोखिममा

रुकुम पश्चिमको आठबीसकोटमा ३९ घर पहिरोको उच्च जोखिममा


सडक खन्ने क्रममा निस्किएको माटो र ढुंगा बगेर पहिरोको रूप लिएपछि रुकुम पश्चिमका ३९ घर जोखिममा परेका छन् । 

पहिरोको जोखिममा परेका परिवार आफन्तको घरमा शरण लिन बाध्य भएका छन् । जिल्लाको आठबीसकोट नगरपालिकाका दुईवटा वडाका ३९ घर पहिरोको उच्च जोखिममा परेपछि स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा ती परिवारलाई आफन्तको घरमा राखिएको छ ।  

नगरपालिका– ७ का वडाध्यक्ष अमृत बुढाका अनुसार मंगलबार दिनभर पहिरो हटाउन र थप क्षति हुन नदिन प्रयास गरेर जोखिममा परेका ३९ वटै घर खाली गरिएको छ । जोखिममा परेका सबै घरपरिवारका पशुचौपाया र अन्नपात जोगाएर आफन्तको घरमा बस्ने व्यवस्था मिलाएको वडाध्यक्ष बुढाले जानकारी दिए। 

राडिज्युला–दाँजे–खदी–बारिङे सडक खण्डबाट निस्केको माटो र ढु‌ंगाका कारण राडिज्युला, गारा, सिम्तारा बस्तीको सिँचाइ नहर भत्किएकाले गाउँमाथिबाट पहिरो झरेको हो। पहिरोका कारण सोही वडामा रहेका चारवटा पानीघट्ट र बाटोमा रहेका घुम्ती पसलसमेत पुरिएका छन् ।

गाउँमा पसेको पहिरोका कारण कतिपय कच्ची घर भत्किएका छन् भने कतिपय भत्किने अवस्थामा पुगेको स्थानीयवासीले बताएका छन् । भत्किएका घरको क्षतिको पूर्ण विवरण भने आइसकेको छैन । पहिरोले वडा नम्बर ७ का धान, मकै खेतीबाली सबै बगाइदिएको छ भने वडा नम्बर ८ को स्यालाका मकैबारी पहिरोले ढाकेको छ ।

नगरप्रमुख रवि केसीका अनुसार स्थानीय खड्क बुढा, महेन्द्रकुमार बोहरा, भीमबहादुर बुढा र प्रबिर बुढाको मकैबारीमा पूर्ण रूपले क्षति पुगेको छ । त्यसैगरी चार जना स्थानीयवासीका घरको छेवैमा पहिरो बग्दा घर कतिबेला पुर्ने हो भन्ने डर भएको उनले बताए ।

Logo