मन्त्री भट्टराईद्वारा सहयोगका लागि आह्वान

मन्त्री भट्टराईद्वारा सहयोगका लागि आह्वान


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० मनाउने अभियानमा सहभागी हुन आम जनता तथा निजी क्षेत्रलाई आह्वान गरेका छन् ।

भ्रमण वर्ष अभियान सफल बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आह्वान गर्दै मन्त्री भट्टराईले आफूले प्रयोग गर्ने निजी तथा संघ–संस्थाको वेबसाइट, फेसबुक, ट्वीटर, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा भ्रमण वर्षको लोगो राख्न आग्रह गरेका हुन् ।

आज मन्त्री भट्टराईद्वारा जारी विज्ञप्तिमा सार्वजनिक तथा निजी क्षेत्रका संगठित संघसंस्थाबाट पनि भ्रमण वर्षमा उत्साहजनक सहभागिताको अपेक्षा गरिएको कुरा उल्लेख छ । मुलुकमा रोजगारी सिर्जना, गरिबी निवारण तथा समावेशी विकासका लागि पर्यटन अर्थतन्त्रको महत्वपूर्ण आयाम रहेको उल्लेख गर्दै मन्त्री भट्टराईले यिनै लक्ष्य पूरा गर्न भ्रमण वर्ष मनाउन लागेको बताएका छन् ।

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाइँदै छ । मन्त्री भट्टराईले विश्वव्यापी रूपमा तथा नेपालभर प्रचारप्रसारमा सहयोग गर्न संसारभर छरिएर रहेका नेपालीलाई आह्वान गरेका हुन् ।

Logo