कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर संचालनमा आउँदै

कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर संचालनमा आउँदै


कोभिड संक्रमितको संख्या बढ्दै जाँदा नेपाली सेनाले काठमाडौंको बसुन्धारामा कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’ संचालन गर्ने तयारी गरेको छ।

केही दिनभित्रै संचालनको तयारीमा रहेको ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’को मंगलबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले निरीक्षण गरेका छन्। सुविधासहित तत्काल ८८ शैयाको अक्सिजन थेरापी संचालन गर्न लागिएको हो। आवश्यकता अनुसार २ सय बेडसम्म संचालन गर्ने तयारी गरिएको छ। 

आइसोलेशन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ। यो आइशोलेशन केन्द्र संचालनमा आएपछि कोरोनाका बिरामीहरुको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ। 

केन्द्रको निरीक्षणपछि सिसिएमसीका संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले काठमाडौंमा उपलब्ध ठूला भवनहरुलाई आइसोलेशन केन्द्रका रुपमा संचालन गरी कोरोना संक्रमितहरुको उपचार गर्ने सोच बनाएको र सोही अनुसार वीरेन्द्र सैनिक अस्पताल र राधास्वामी संस्थाबाट भएको योगदान प्रशंसनिय भएको बताए। उनले यो केन्द्र सञ्चालनमा आएपछि कोभिड संक्रमितको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

निरीक्षणका क्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञानमाया डंगोल लगायतको सहभागिता थियो। आइसोलेशन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो।

Logo