स्वास्थ्य मापदण्ड पुरा नगरी जथाभावी आइसोलेसन सेन्टर नखोल्न स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य मापदण्ड पुरा नगरी जथाभावी आइसोलेसन सेन्टर नखोल्न स्वास्थ्य मन्त्रालयको आग्रह


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पुरा नगरी जथाभावी आइसोलेसन सेन्टर नखोल्न सबैलाई आग्रह गरेको छ। 

कोभिड-१९ संक्रमणका विरामीको संख्या बढेसँगै विभिन्न संघसंस्थाहरुले आइसोलेसन सेन्टर खोल्ने खोल्ने क्रम पनि बढ्दै गएको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्डबिनाका आइसोलेसन केन्द्र घातक हुने चेतावनी दिएको छ। ठूलो हल वा कोठामा बेड, ओढ्ने ओछ्याउने, अक्सिजनका सिलिण्डर लगायत सामाग्री राखेर आइसोलेसन सेन्टर खोल्ने होडबाजी जस्तै चल्न थालेपछि मन्त्रालयले जथाभावी आइसोलेसन सेन्टर नखोल्न सचेत गराएको हो।   

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले आइसोलेसन सेन्टर खोल्दै गर्दा आवश्यक स्वास्थ्यकर्मीहरु, उपचारमा चाहिने उपकरणहरु, औषधिहरु र क्रिटिकल केयरका लागि लैजाने अस्पतालहरुको समन्वय , प्रत्यक्ष निगरानीका सुनिश्चितता गर्न सुझाव दिए। उनले सामान्य भौतिक पुर्वाधारको व्यवस्थामात्रै गरेर स्वास्थ्य मापदण्ड पालना गर्न नसक्ने गरी बनाइएका आइसोलेसन केन्द्रहरु स्वास्थ्यका हिसाबले अर्को घातक हुनसक्ने चेतावनी दिए।

उनले टोल टोलमा आइसोलेसन सेन्टरका नाममा स्वास्थ्य सामाग्रीहरुको ठूलो खपत हुने र साँच्चै आवश्यक पर्ने अस्पतालहरुमा उपचार सामाग्रीको अभाव हुन सक्ने स्थिति श्रृजना भएकाले आफूहरु चिन्तित बनेको बताए। उनले आइसोलेसन सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार राख्नै पर्ने स्वास्थ्य सामाग्री, जनशक्तिको व्यवस्थापन तथा त्यहाँबाट निस्कने फोहर व्यवस्थापनको विषय चुनौतीपूर्ण रहेको बताए।

डाक्टर अधिकारीले कोभिड-१९ को उपचार नभइरहेको अवस्थामा संक्रमण रोक्ने किसिमका गतिविधिमा विशेष ध्यान दिन पनि आग्रह गरे। उनले आइसोलेसन सेन्टरहरु खोल्दै अस्पताल जस्तो क्रिटिकल केयर गर्ने स्थानहरुमा अक्सिजन लगायत स्वास्थ्य उपचारका सामाग्री अभाव हुने चुनौती पनि बढ्दै जाने भएकाले स्वास्थ्यकर्मीसहितको क्रिटिकल केयर र आवश्यक पर्दा अस्पतालहरुको समन्वय हुने व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए।

डाक्टर अधिकारीले संक्रमणलाई फैलन नदिन स्वास्थ्य सर्तकताका मापदण्ड कडाईका साथ अनुशासित भएर पालना गर्न सबैलाई अपिल गरे। 

Logo