हनी सिंह र शालिनी तलवारको सम्बन्धविच्छेद भएको छ ।
बलिउड तथा पञ्जाबी गायक यो यो हनी सिंहकी पत्नी शालिनी तलवारले गत वर्ष दिल्लीको तीस हजारी अदालतमा गायकमाथि घरेलु हिंसा र अन्य महिलासँग शारीरिक सम्बन्ध लगायतका धेरै गम्भीर आरोप लगाएकी थिइन् । रिपोर्टका अनुसार शालिनीले हनी सिंहसँग सम्बन्धविच्छेदका लागि १० करोड भारु माग गरेकी थिइन् ।
तर अहिले दुवैबीच १ करोडमा सम्झौता भएको छ । हनी सिंहले बिहीबार दिल्लीको साकेत जिल्ला अदालतको पारिवारिक अदालतमा सिल गरिएको खाममा शालिनी तलवारलाई एक करोड भारुको चेक दिएका हुन् ।
बिहीबार अदालतमा यो यो हनी सिंह र शालिनी तलवारबीच आरोप–प्रत्यारोपपछि मुद्दा टुंगिएको थियो । अहिले यी दुईबीच १ करोड रुपैयाँमा सम्झौता भएको छ । यो मामिलाको अर्को सुनुवाइ मार्च २०, २०२३ मा हुनेछ ।
शालिनीले अगस्ट ३ मा दिल्लीको तीस हजारी अदालतमा र्यापर यो यो हनी सिंहमाथि घरेलु हिंसाको आरोप लगाएकी थिइन् । उनले आफूलाई हिरदेश सिंह उर्फ हनी सिंहले कुटपिट गरेको आरोप लगाएका थिए । उनीहरु विवाह सम्बन्धमा दस वर्ष एकअर्कासँग साथसाथ रहेका थिए ।
शालिनी तलवारले अन्तर्राष्ट्रिय भ्रमणको बहानामा गायकले धेरै महिलासँग अवैध यौनसम्बन्ध राखेको आरोप हनी सिंह माथि लगाएकी थिइन् । शालिनी तलवारको आरोपपछि हनी सिंहले ६ अगस्ट २०२१ मा सो नोट सामाजिक सञ्जालमा सेयर गरेका थिए । जसमा उनले यी आरोपको खण्डन गरेका छन् । उनले आफुमाथि झूटा आरोप लगाउनु निकै दुःखद भएको बताएका थिए ।
प्रतिक्रिया