पञ्जाबी गायक दलेर मेहन्दीलाई जमानत

पञ्जाबी गायक दलेर मेहन्दीलाई जमानत


मानव तस्करी मामलामा जेलमा रहेका बलिउडका लोकप्रिय तथा प्रख्यात पञ्जाबी गायक दलेर मेहन्दीलाई हरियाणा हाईकोर्टले जमानत दिएको छ । 

पटियाला हाई कोर्टले सुनाएको सजायमा रोक लगाउँदै पञ्जाब र हरियाणा हाईकोर्टले दलेरको जमानता निवेदनलाई स्वीकृति दिएको हो । गत जुलाई १४ मा दलेरलाई पटियाला प्रहरीले पक्राउ गरेको थियो । तीन महिनायता दलेर जेलमा नै कैद थिए । १९ वर्ष पुरानो मानव तस्करी मुद्धामा पटियालाको ट्रायल कोर्टले सन् २०१८ मा दलेरलाई दुई वर्षको जेल सजाय सुनाएको थियो ।

यद्यपि त्यो समयमा दलेरले जमानत पाएका थिए । तर यसपटक भने दलेरले पटियालाका एडिसनल सेशन जजको अगाडि अपिल दर्ता गरेर चुनौती दिएका थिए । चार वर्षसम्म अपिलमा भएको सुनुवाईपछि कोर्टले १४ जुलाई २०२२ मा उनको अपिललाई खारेज गर्दा जेल सजाय सुनाएको थियो ।

अपिल खारेजपछि दलेरले हाई कोर्टमा रिभीजन पिटीशन दायर गरेर अदालतको निर्णयलाई चुनौती दिएका थिए । त्यही दायर पिटीशनको सुनुवाई गर्दै गायकलाई जमानतमा रिहा गर्न आदेश दिएको हो ।

१९ वर्ष अघि दलेर र उनका भाई शमशेर सिंहमाथि बक्शी सिंह नामका एक व्यक्तिले पटियाला सदर थानामा उजुरी दिएका थिए । उजुरीमा दलेर र उनका भाईले आफ्नो मण्डली सदस्यका रुपमा केही व्यक्तिलाई अवैध रुपमा विदेश पठाउनका लागि मोटो रकम असुलेको आरोप लगाइएको थियो ।

सन् २००३ मा सदर पुलिस स्टेसनमा दर्ता पहिलो निवेदन अनुसार मेहन्दी दाजुभाईले सन् १९९८ र १९९९ मा दुई मण्डली लिएका थिए । यो बेला १० व्यक्तिलाई समूह सदस्यका रुपमा अमेरिका लगिएको थियो र अवैध रुपमा त्यही छोडिएको थियो ।

पहिलो उजुरी दर्ता पछि प्रहरीले गायकविरुद्ध ३५ अन्य उजुरी पाएको थियो । सन् २०१८ मा न्यायिक मजिस्ट्रेट प्रथम श्रेणीको अदालतले दुवै भाइलाई दोषी ठहर्याउँदै दुई वर्षको जेल सजाय सुनाएको थियो । त्यसपछि उनीहरुलाई जमानत दिइएको थियो ।

Logo