‘सम्मान मिस लिम्बू -२०७९’ का लागि काठमाडौं अडिसनबाट छानिए १३ जना

‘सम्मान मिस लिम्बू -२०७९’ का लागि काठमाडौं अडिसनबाट छानिए १३ जना


‘सम्मान मिस लिम्बू–२०७९’को पाँचौं संस्करणका लागि काठमाडौं अडिसनबाट १३ जना छनोट भएका छन् ।  अनामनगरमा भएको अडिसनमा ९ जना र डिजिटल अडिसनमार्फत चार जना छनोट गरिएको आयोजक संस्था याक्थुङ युथ एशोसिएसन (वाईवाईए)ले जनाएको हो ।

काठमाडौं अडिसनबाट फुङ्निमा योङ्हाङ, साम्माङ थाम्सुहाङ, एलिना तुम्बापो, ममता आङ्बो, गंगा सेम्बु लिम्बू, निरुता लिम्बू, अस्मिता मादेन,जमुना सेम्बु र सुस्मा इम्सोङ लिम्बू छनोट भएका छन् । साथै डिजिटल अडिसनमार्फत मुन नाल्बो, कल्पना लिङ्खिम, याङ्चुली खापुङ र सुम्निमा खापुङ छनोट भएका छन् । विभिन्न कारणवश अडिसनमा आउन नसक्ने प्रतिस्पर्धीहरुको लागि डिजिटल अडिसनमार्फत छनौट गरिएको हो । 

अडिसनमा कोरियोग्राफर जयन सुब्बा मानन्धर, गायक डम्बर नेपाली, वाईवाईएका सल्लाहकार आशा नेम्बाङ, नेपाल पत्रकार महासघ काठमाडौं शाखाका अध्यक्ष सुर्य सुवेदी, छाँयाकार एवं निर्देश्क भुपेन्द्र तुम्बाहाङ्फे, मिस लिम्बू–२०१५ विष्णु चेम्जोङ र तेह्रथुमे ढाका बुटिककी सञ्चालक निर्मला आङ्बुङ निर्णायक रहेका थिए ।

यसअघि धरान अडिसनबाट १४ जना छनोट भइसकेका छन् । धरान र काठमाडौं अडिसन गरी ‘सम्मान मिस लिम्बू–२०७९’मा २७ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

आगामी चैत ११ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने प्रतियोगिताको ग्राण्ड फिनालेमा विजेताले नगद ५० हजारसहित स्कुटी पाउनुका साथै हङकङ भ्रमणको समेत अवसर दिइनेछ । त्यस्तै, फस्ट रनर्सअपले एक लाख र सेकेन्ड रनर्सअप विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । 

Logo