कलाकार संघका अध्यक्षको आरोपः नेतृत्वका लागि उठेका उम्मदेवार कुर्सीमै सिमित छन्

कलाकार संघका अध्यक्षको आरोपः नेतृत्वका लागि उठेका उम्मदेवार कुर्सीमै सिमित छन्


वरिष्ठ कलाकार नीर शाहले कलाकार, कलाकार संघ र नेपाली समाजबीचको त्रिकोणात्मक सम्बन्ध नराम्रो बन्दै गइरहेको भन्दै आपत्ति जनाएका छन् । 

शनिवार काठमाडौंमा जारी नेपाल चलचित्र कलाकार संघको १९औं साधारण सभालाई सम्बोधन गर्दै वरिष्ठ कलाकार शाहले यस्तो बताएका हुन् । उनले कलाकारहरु समाजमा आफ्नो गरिमामय उपस्थिति जनाउन कलाकार, कलाकार संघ र नेपाली समाजबीचको सम्बन्धका कारण सक्षम भएपनि बिस्तारै सबैले आफ्नो भूमिका बिर्सिंदै गएको बताए । 

उनले कलाकार, कलाकार संघ र समाजबीच पछिल्लो समय दरार उत्पन्न भइरहेको भन्दै सबै मिलेर यसलाई समाधान गर्नुपर्ने बताए । 

त्यस्तै चलचित्र निर्माता संघका अध्यक्ष एवं नेपाल चलचित्र कलाकार संघका निःवर्तमान अध्यक्ष नवल खड्काले राष्ट्रिय चलचित्र नीतिको कार्यान्वयन गर्न आवश्यक रहेको बताए । उनले चलचित्र सम्बन्धी कानून बनाउन नसकेको भन्दै आपत्ति जनाए । 

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले अहिलेको नेतृत्वका लागि दाबेदारहरु कुर्सीका लागि मात्रै आएको आरोप लगाए । उनले नयाँ आउने नेतृत्वलाई आफ्नो अभाव खड्किन नदिनेगरी काम गरेर देखाउन आग्रह गरे । 
 
त्यस्तै महासचिव पदका उम्मेदवार सविन श्रेष्ठले आफूले जितेपछि कलाकार संघमा रोकिएका कामहरुलाई तिब्र गतिमा अघि बढाउने बताए । उनले अबको नेतृत्वका लागि दुवै प्यानल सक्षम भएपनि जितेपछि चलचित्र विकासका लागि काम गर्नुपर्ने बताए ।  

कलाकार सुशील पोखरेलले कलाकार संघले सबैको सहयोग गर्नुपर्छ भनेर कल्याण कोष खोलेपछि वास्तविक पीडित कलाकारहरुलाई आवश्यक सहयोग गर्न नसकिरहेको गुनासो गरे । उनले अहिलेको श्रोत, साधनले मात्रै कलाकारहरुको सहयोग नपुग्ने तर काम जारी रहेको बताए । 

त्यस्तै नेपाल चलचित्र कलाकार संघमा स्वतन्त्र महासचिवमा उम्मेदवारी दिएका उत्तम केसीले कलाकाकर पार्टीको हुनु नहुने बताए । उनले कलाकारहरु विभाजित बन्नु नहुने र कलाकारहरुलाई संघले एकतावद्ध गर्नुपर्ने बताए । 
 
उनले चलचित्र कलाकार संघमा बेथिति, विसंगति रहेकाले त्यसको बिरुद्धमा आफू रहेको बताए । उनले नयाँ र पुराना कलाकारबीचमा रहेको भेदभावलाई हटाउनुपर्ने बताए ।

Skip This
Logo