झपक्कै फुल्यो आँप

झपक्कै फुल्यो आँप


यस बर्ष दाङमा विगत भन्दा अत्याधिक मात्रामा आँप फुलेको छ । फूलले आँपको रुख नै ढाकेको छ । यसले किसानमा खुसी ल्याएको छ। ‘अहिलेसम्म हामीले यसरी आँप फुलेको देखेका थिएनौं’, तुलसीपुर ७ प्रसेनीका किसान नवराज सुवेदीले भने, ‘यसले हामीलाई खुसी बनाएको छ । हेर्दा पनि मनमोहक देखिन्छ ।’

आँप धेरै फुलेपनि यसलाई जोगाउन भने चुनौति रहेको किसान तुलसीपुर ९ निवासी दिवेश केसीले बताए । ‘हावाहुरी, असिना पानीले फूल झार्दिने हो की भन्ने चिन्ता छ’,उनले भने, ‘आँप धेरै फलेपनि त्यसको बजारीकरण नहुँदा कुहिएर जाने हो कि भन्ने पनि चिन्ता छ ।’

यस वर्ष आँपमा ‘अनएयर’ भएकाले पनि आँपमा धेरै फूल फुलेको तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए । ‘फूल फुल्ने विरुवामा एक वर्ष अनएयर र एक वर्ष अफएयर हुन्छ’,उनले भने, ‘यस बर्ष आँपको अनएयर चलिरहेको छ, त्यसैले आँप धेरै फुलेको हो ।’

असिना,पानी, हावाहुरीले असर नगरेमा यस वर्ष आँप उत्पादन अत्याधिक वृद्धि हुने उनको भनाइ छ । आँप उत्पादन भए पनि त्यसलाई बजारीकरणका लागि अचार बनाउनेदेखि पाक्दासम्म ध्यान दिनुपर्ने उनले बताए । आँप बाहिरी जिल्लाबाट आयत गर्नुपर्ने अवस्था रहेको जनाउँदै यसलाई अन्त्य गर्न आँप संरक्षण तथा व्यवसायीकरणमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

दाङको पवननगर, मानपुर र विजौरी क्षेत्र आँप उत्पादनका लागि उत्तम क्षेत्र मानिन्छ । अहिले दाङमा स्थानीय बिजु,सुपारी जातका आँप उत्पादन हुने गर्छ । त्यस्तै दसरी, माल्डा , अम्रपाली, नागपुरे ,बम्बे जातकाआँपहरु उत्पादन हुने गरेको छ । जिल्लामा बर्सेनि आठ हजार मेट्रिकटनको हाराहारीमा आँप उत्पादन हुनेगर्छ ।

Logo