आज राष्ट्रिय चलचित्र दिवस। देशभर चलचित्रकर्मीहरूले विभिन्न कार्यक्रमहरू गर्दै यस दिवस मनाउने गर्दछन्।
हरेक वर्ष असोज १ गते राष्ट्रिय चलचित्र दिवसका रूपमा मनाइँदै आएको छ। चलचित्र विकास बोर्डले सन् २०१२ मा हरेक वर्ष आको दिनलाई विभिन्न कार्यक्रम गर्दै यस दिवसका रुपमा मनाउन गरेको छ।
शुरुवाती दिवसहरूमा चलचित्र सप्ताह मनाइँदै आइएको थियो। पछिल्लो समय भने असोज १ मा मात्र विभिन्न कार्यक्रमहरू गरेर यो दिवस मनाउन थालिएको हो।
चलचित्र विकास बोर्ड भने सन् २००० को ३० जूनमा स्थापित संस्था हो। यसको मूल उद्देश्य चलचित्रको प्रवद्र्धन अनि चलचित्रकर्मीहरूको संस्थागत विकास गर्नु हो।
पहिलो नेपाली चलचित्र ‘आमा’
नेपाली चलचित्र ‘आमा’लाई नेपालमा निर्माण भएको पहिलो चलचित्र मानिन्छ। हिरासिंह खत्रीले निर्देशन गरेको चलचित्रमा शिवशंकर, भुवन चन्द, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिरासिंह खत्री र हरिप्रसाद रिमालले अभिनय गरेका थिए।
पहिलो रंगीन चलचित्र ‘कुमारी’
चलचित्र ‘कुमारी’ नेपालमा निर्माण भएको पहिलो रंगीन चलचित्र हो । प्रेमबहादुर बस्नेतको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा विश्व बस्नेत, चैत्यदेवी सिंहलगायतको अभिनय थियो ।
रजतजयन्ती मनाउने पहिलो चलचित्र ‘कुसुमे रुमाल’
सन् १९८५ मा निर्माण भएको यो चलचित्रले चलचित्र घरमा रजतजयन्ती मनाएको थियो। रजत जयन्ती भन्नाले चलचित्र प्रदर्शनको सय दिनलाई मानिन्छ। तुलसी घिमिरेको निर्देशन, उद्धव पौड्याल प्रस्तुतकर्ता र सुमित्रा पौडेल निर्माता रहेको यो चलचित्रमार्फत गायक उदितनारायण झाले अभिनयमा ‘डेब्यू’ गरेका थिए।
नेपाली चलचित्रको इतिहासमा यो चलचित्रलाई पहिलो ‘ब्लकब्लस्टर’ चलचित्र मानिन्छ। चलचित्रमा भुवन केसी, तृप्ती नाडकरको पनि अभिनय थियो।
पहिलो व्यावसायिक चलचित्र ‘युगदेखि युगसम्म’
सन् १९८८ मा निर्माण गरिएको यो चलचित्र नेपालको पहिलो व्यावसायिक चलचित्र हो। छविराज ओझाले निर्माण र अभिनेता राजेश हमालले अभिनय रहेको यस चलचित्रमा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले द्वन्द्वमा ‘डेब्यू’ गरेका हुन्।
दीपक रायमाझीले यस चलचित्रलाई निर्देशन गरेका थिए। चलचित्रमा कृष्टी मैनाली, सुशिला रायमाझी, टीका पहाडी, गोपालराज मैनालीलगायतले अभिनय गरेका थिए।
राँको
किशोर रानाको निर्देशन रहेको यो चलचित्रलाई नेपालको पहिलो सिनेमास्कोप चलचित्र मानिन्छ। २०५० सालमा प्रदर्शनमा आएको चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, विजय लामा, गौरी मल्ल, कृष्टि मैनाली, मिथिला शर्मा, सुनिल थापालगायतका कलाकारको अभिनय थियो।
माइलस्टोन चलचित्र ‘दर्पण छायाँ’
सन् २००१ मा निर्माण भएको चलचित्र ‘दर्पण छायाँ’लाई पनि ‘माइलस्टोन’ चलचित्रका रुपमा लिइन्छ। त्रिकोणात्मक प्रेमकथाको यो चलचित्रमा तुलसी घिमिरेको निर्देशन र श्रवण घिमिरेको निर्माण छ।
दिलिप रायमाझी, उत्तम प्रधान र निरुता सिंहको प्रमुख भूमिकामा अभिनय रहेको चलचित्रले तुलसीले नै निर्देशन गरेको ‘कुसुमे रुमाल’को बक्स अफिस कलेक्सनको रेकर्ड तोडेको थियो। त्यो बेला झन्डै ७ करोड बढी ग्रस कलेक्सन गरेको यो चलचित्रले उक्त समयमा सर्वाधिक कलेक्सन गर्ने चलचित्रको रेकर्ड राखेको थियो।
पहिलो डिजीटल चलचित्र ‘कागबेनी’
सन् २००८ मा निर्माण भएको यो चलचित्रलाई नेपालको पहिलो डिजिटल चलचित्र मानिन्छ। सञ्चारकर्मी भुषण दाहालको डेब्यू निर्देशन रहेको चलचित्रमा निमा रुम्बा, सौगात मल्ल, दिया मास्केलगायतका कलाकारको अभिनय छ।
मुस्ताङको सेरोफेरोमा छायाङ्कन गरिएको यो चलचित्र पछि मात्र नेपालमा डिजिटल फम्र्याटमा चलचित्र निर्माणको क्रम सुरु भएको हो। अमेरिकन कम्पनी सिलिकन इमेजिङबाट उच्च गुणस्तरीय डिजिटल क्यामरा ल्याई यो चलचित्र निर्माण गरिएको थियो।
कलाप्रकाशित: १ असोज २०८० ०७:१९ सोमबार