नेपाल-युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सव २०२१ आयोजना हुँदै

नेपाल-युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सव २०२१ आयोजना हुँदै


नेपालका लागि युरोपियन युनियनको डेलिगेसनले ‘नेपाल-युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सव (नियुफ) २०२१’ आयोजना गर्ने भएको छ। 

उक्त फेस्टिभल भर्चुअल स्ट्रिमिङ प्लाटफर्म “फेस्टिभल स्कोप” मार्फत आयोजना गरिने छ। 

महोत्सवको दशौँ संस्करणमा नेपाली दर्शकहरूका लागि यही असोज १ देखि ९ सम्मको अवधिभरि विभिन्न पुरस्कार जित्न सफल १४ युरोपियन मुलुकका १५ चलचित्रको साथै अन्य २४ चलचित्रहरू प्रदर्शन गरिने छन् । 

महोत्सवमा विभिन्न पुरस्कार जित्न सफल ११ युरोपेली चलचित्रहरू समावेश  गरिएका छन् । यीमध्ये दुईओटा चलचित्र नेपाली भाषामा सबटाइटल गरिएका छन् । यस्तै तीनओटा पुरस्कार जित्न सफल नेपाली चलचित्रहरू पनि समावेश गरिएका छन् । 

महोत्सवमा देखाइने चलचित्रमा नेपालको विनोद पौडेल निर्देशित ‘बुलबुल’, धोन्डुप छिरिङ निर्देशित ‘आमा खान्डा’ तथा भारतको सर्जियो बास्सो निर्देशित ‘सरिता’ नन्दन सक्सेना तथा कविता भालद्वारा निर्देशित ‘आई क्यान नट् गिभ यू माई फरेस्ट’ प्रदर्शित हुनेछन् । ‘आई क्यान नट् गिभ यू माई फरेस्ट’ उत्कृष्ट कृषि चलचित्र विधामा राष्ट्रिय चलचित्र पुरस्कारबाट पुरस्कृत भइसकेको हो ।

गणेश पाण्डे निर्देशित ‘को–हसबेन्ड्स’ तथा राजन कठेत निर्देशित ‘स्प्लिट् एन्ड्स् दुई छोटा चलचित्रले महोत्सवमा नेपाली चलचित्रहरूको सूचीलाई थप रुचिकर बनाएका छन् । रादु कोर्निसिसुको ‘वल्र्ड सिनेमा डकुमेन्ट्री कम्पिटिसन’ तथा सनडान्डस् फिल्म फेस्टिभलमा पहिलो पटक प्रदर्शन गरिएको ‘अकासा माई होम’ नामक वृत्तचित्रले घर, परिवार तथा खुसीको बारेको हाम्रा धारणालाई चुनौती दिन्छ । 

अर्को युरोपेली चलचित्र हर जबलाई पनि नेपाली भाषामा सबटाइटल राखिएको छ । उक्त चलचित्र सपिङ मलमा सफाई गर्ने काम पाएपछि आफ्नो नयाँ अस्तित्वको अनुभूति गरेकी एक महिलाको कथामा आधारित छ । ‘हर जब’ चलचित्र निर्देशक लेबोटको पहिलो फिचर चलचित्र हा,े जसलाई ४३ औँ टोरन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको डिस्कभरी खण्डमा पहिलो पटक प्रदर्शन गरिएको थियो । 

अन्य चलचित्रहरूमा अंग्रेजी सबटाइटल राखिएका छन् । यस वर्षको नियुफ्को अर्को आकर्षण भनेको महोत्सवमा २३ ओटा वन्यजन्तु संरक्षण, वातावरण तथा जलवायु परिवर्तनसँग सम्बन्धित चलचित्र समावेश गरिनु हो । 

जसमध्ये, ‘फायरफक्स् गार्डियन’ शीर्षक भएको एउटा छोटो वृत्तचित्रले पूर्वी नेपालकी एक स्थानीय महिला संरक्षणवादीको कथा भन्छ, जसले उनी संकटासन्न जीवको सूचीमा रहेको रातो पाण्डाको संरक्षणका लागि पहलहरू बढाउनुपर्ने आवश्यकताको बारेमा कसरी जनचेतना बढाइरहेकी छिन् भन्ने देखाउँछ ।

अन्य वातावरणीय चलचित्रहरू युरोप तथा भारतको पृष्ठभूमिमा निर्माण गरिएका छन् । ती चलचित्रहरुले उठाएका सवालहरू नेपालको सन्दर्भमा पनि उपयुक्त भएकाले ती चलचित्रहरुलाई महोत्वसमा समावेश गरिएको हो ।

चलचित्र निर्माणका विविध पक्षबारे अन्तक्रिया

महोत्सवमा प्रदर्शित गरिने चलचित्रहरुको अलावा चलचित्र निर्माणका विविध पक्षहरूको बारेमा पनि तीनवटा कार्यक्रमहरूको आयोजना गरिने छ । यसअन्तर्गत पहिलो कार्यक्रम असोज ३ गते दिउँसो २ बजे युरोपेली तथा नेपाली चलचित्र निर्माणको कलात्मक तथा वित्तीय पक्षहरूबारे अन्तक्रियात्मक कार्यक्रम गरिने छ। उक्त कार्यक्रममा नेपाल तथा युरोपका प्रख्यात चलचित्रकर्मीहरू सहभागी हुनेछन् ।

त्यस्तै असोज ६ गते दिउँसो २ बजे चलचित्रमा महिला शीर्षकमा दोस्रो कार्यक्रम हुनेछ । नेपाल तथा युरोपका प्रख्यात चलचित्र निर्देशक तथा चलचित्र महोत्सव आयोजकहरू सहभागी हुने उक्त कार्यक्रममा चलचित्र निर्माणका विभिन्न पाटाहरू तथा हालको समयमा चलचित्र उद्योगमा महिलाहरूको अवस्था कस्तो छ भन्ने बारेमा छलफल गरिने छ ।
यस्तै उक्त शृंखलाको तेस्रो कार्यक्रम हरित चलचित्रनिर्माण विषयमा अन्तक्रियागरिने छ, जसलाई डा. एलबर्टो बाट्टोचीले सहजीकरण गर्ने छन्। उनले श्रव्यदृश्य निर्माणमा वातावरणीय दिगोपनको बारेमा चर्चा गर्नेछन् । यो कार्यक्रम असोज ८ गते दिउँसो २ बजे हुनेछ ।

महोत्सवमा भएका चलचित्र हेर्नका लागि इच्छुक दर्शकले https://www.festivalscope.com/page/neuff/ प्रयोग गरी फेस्टिभल स्कोपको साइटमा जान सक्ने छन् । साइटमा गइसकेपछि, दर्शकले आफ्नो इमेल ठेगाना प्रयोग गरी आफ्नो अकाउन्ट खोल्न सक्नेछन् । अकाउन्टमा दर्शकले साइन इन गरेर निःशुल्क रुपमा कुनै पनि चलचित्र हेर्न सक्ने छन् । महोत्सवको साइट आगामी असोज १ बाट सुचारु हुनेछ।

Logo