बुवाको सम्मान र सम्झनामा ‘बा मेरा बा’ गीत सार्वजनिक (भिडियोसहित)

बुवाको सम्मान र सम्झनामा ‘बा मेरा बा’ गीत सार्वजनिक (भिडियोसहित)


बुवाको मुख हेर्ने दिनको अवसर पारेर बुवाको सम्मान र सम्झना झल्कने गरी ‘बा मेरा बा’ गीत सार्वजनिक भएको छ। ‘भ्वाइस अफ नेपाल’ प्रथम संस्करणका विजेता सिडी विजय अधिकारीको स्वर रहेको गीतको रचना डा. ऋषि बस्ताकोटीले गरेका हुन्।

खेम विश्वकर्माको संगीत र पुष्कर सुनुवारको संगीत संयोजनमा तयार पारिएको उक्त गीतलाई ‘द टच क्रियसन’ ले युट्युबमार्फत् सार्वजनिक गरेको हो। गीतको लिरिकल भिडियोमा गायक सिडी विजय अधिकारीको लिप्सिङ देख्न सकिन्छ भने भिडियोको सम्पादन मोहन सुनुवार (नवीन)ले गरेका हुन्।  

गीतमा आफ्ना सन्तानलाई असल नागरिक बनाउनका लागि बुवाहरूले गरेको दुःख–कष्टलाई सरल तरिकाले प्रस्तुत गरिएको छ। सन्तानको सुन्दर भविष्यका लागि आफूले धेरै कुरा गुमाए पनि आफ्नो सुविधाभन्दा सन्तानका प्रगतिमा खुसी हुने, सन्तानलाई सदा  असल र सरल बन्न प्रेरित गरिरहने संसारभरका बाहरूलाई यो गीत समर्पण गरिएको गीतका रचनाकार बस्ताकोटीले बताए। 

आफूले थुप्रै सदाबहार गीत गाए पनि बाप्रति समर्पित गीत भने पहिलो पटक गाउने सौभाग्य मिलेको गायक सिडी विजय अधिकारीको भनाइ छ। यो गीत गाउँदा आफू निकै भावुक बनेको र यो गीत गाइरहँदा आफूलाई बुवासँग बिताएका क्षण याद आएको अनुभूति उनले सुनाए। 

गीतकार डा. बस्ताकोटीले आफ्ना यसअघिका धेरैजसो गीत देखेसुनेका कथाको आधार या कल्पनामा लेखिएका भए पनि ‘बा मेरा बा’ गीत भने आफ्ना दिवंगत पिताजीको सरल जीवन, संघर्ष र  सन्तानप्रतिको समर्पणलाई अन्तरहृदयबाट अनुभूत गरी  रचना गरिएको उल्लेख गरे।

संसारका सम्पूर्ण जिम्मेवार पिताजीहरूको सम्मान र समर्पणमा गीत तयार पारेको उनको धारणा छ। ‘बाहरू साँच्चै नै मैनबत्तीजस्ता हुन्,’ उनी अगाडि भन्छन्, ‘यो गीत सम्पूर्ण सन्ततिहरूका तर्फबाट आफ्नो जीवन जलाउँदै आफ्ना सन्तानलाई अन्तिम क्षणसम्म उज्यालो दिइरहने सबै पिताका लागि सम्मान हो।’

नेपाली परम्पराअनुसार बुवाको मुख हेर्ने दिनको अवसर पारेर सार्वजनिक गरिएको यो गीतले सम्पूर्ण सन्तानलाई आफ्ना पिताप्रति थप अनुग्रहित बनाउने उनको विश्वास छ। 

संगीतकार खेम विश्वकर्माले आमाका नाममा थुप्रै गीतहरू लेखिएका र गाइएका भए पनि बाका नाममा भने खासै धेरै गीत नबनेको सन्दर्भ उल्लेख गरे। ‘गीतका शब्दहरू सुन्दै जाँदा यो गीत गीतकारले हुबहु मेरो आफ्नै बाको कथा थाहा पाएर लेखिदिए जस्तो लाग्यो, सायद यो गीत जसले सुन्छ, यसमा उसले उसैको बाको कथा भेटाउँछ।’

 

Logo