1
1

सिनेमाघर त खुले तर दर्शक छैनन्, प्रदर्शनका लागि किन अघि सरेनन् नेपाली चलचित्र?

1
1
1

दशैँको घटस्थापनादेखि देशभरका सिनेमाघरहरू पुनः सञ्चालनमा आएका छन्। हलिउड चलचित्र ‘फास्ट एन्ड फ्यूरियस ९’ को प्रदर्शनसँगै कोरोना सङ्क्रमण जोखिमका कारण ठप्प रहेका सिनेमाघरका पर्दा चलायमान भएका हुन्।

दर्शकको उपस्थिति न्यून रहेको अवस्थामा फिल्म निर्माता एवं प्रदर्शकहरूलाई विभिन्न राहत तथा सहुलियत प्रदान गरी हल सञ्चालनमा ल्याएको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए। उनले भने,”निर्माताहरूलाई प्रोत्साहित गर्नका लागि विभिन्न राहत प्याकेज अघि सारेका हौँ। अब नेपाली चलचित्र क्षेत्रलाई चलायमान गर्न हल सञ्चालनमा ल्याउनुको विकल्प छैन।”

विकास बोर्डले पुस मसान्तसम्ममा प्रदर्शन मिति तय गर्ने चलचित्रको इन्कोडिङ खर्च, भीपीसी शुल्क र प्रचार छपाइ व्यहोर्ने भएको छ। दाहालका अनुसार उक्त चलचित्रहरूले १२ वटा राष्ट्रिय टेलिभिजनहरूमा ५० प्रतिशत छुटमा प्रचार सामग्री प्रसारण गर्ने सुविधा बोर्डले उपलब्ध गराएको छ।

त्यस्तै चलचित्र छायाङ्कनका लागि बीमा गर्ने निर्माताले बोर्डको तर्फबाट डेढ लाख रुपैयाँ पाउने दाहालले बताए। “चलचित्र व्यवसायीहरूलाई मर्का नपर्ने गरी योजना अघि सारेका छौँ। बिस्तारै नेपाली चलचित्र प्रदर्शनमा आउँछन्। दर्शक हलसम्म आउँछन् कि आउँदैनन् भन्ने चाहिँ चुनौतीको विषय हो,” दाहालले भने।

प्रदर्शनका लागि किन अघि सरेनन् नेपाली चलचित्र?

चलचित्र विकास बोर्डले मङ्गलवार चलचित्रकर्मीलाई राहतसँगै चलचित्रहरूको प्रदर्शन मिति घोषणा गर्ने कार्यक्रम राखेको थियो। तर, त्यस दिन कुनै पनि चलचित्रको प्रदर्शन घोषणा हुन सकेन।

हरेक वर्ष दशैँको फूलपातीका दिन नेपाली चलचित्र प्रदर्शनका लागि हानथाप हुन्थ्यो। तर, यस पटक विकास बोर्डले राहत उपलब्ध गराउँदा समेत चलचित्रहरू प्रदर्शनका लागि तयार भएनन्।

‘प्रेम गीत ३’, ‘नीरफूल’, ‘लक्का जवान’, ‘माइकल अधिकारी’जस्ता ठूलो बजेटका चलचित्र बनिसकेका छन्। तर, तीमध्ये कुनै पनि चलचित्रको प्रदर्शन मिति तय भएको छैन। ‘डाँडाको वरपीपल’ प्रदर्शनको तयारीमा रहेको एक मात्र नेपाली चलचित्र हो।

“शत प्रतिशत जोखिम मोलेर आफ्नो फिल्म प्रदर्शनका लागि अघि सारेको हुँ। कुनै पनि निर्माता त्यो जोखिम उठाउन तयार नभए सिनेमा क्षेत्र कहिले खुल्ने?,” फिल्मका निर्देशक शोभित बस्नेतले भने,"आफूलाई पर्ने घाटाको हिसाब नगरी फिल्म क्षेत्रलाई चलायमान बनाउने पहल गरेको हुँ।"

निर्माताको लगानी ‘बालुवामा पानी हाले सरह’ नहोस् भन्ने हेतुले ठुला बजेटको फिल्मलाई अघि नसारेको चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीको दाबी छ। “लाखौँको लगानीमा बनेको फिल्म लगायौँ तर भोलि दर्शक आएनन् भने त्यसको असर निर्मातालाई मात्र होइन कलाकारदेखि प्राविधिकसम्म सबैलाई पर्छ। त्यसैले फिल्म लगाउन कर नगरेका हौँ,” अधिकारीले भने,”हाल दर्शक हलसम्म आउने वातावरण बनाउनु महत्त्वपूर्ण विषय हो।”

पुस मसान्तसम्ममा प्रतिक्षारत केही चलचित्र दर्शकले हेर्न पाउने गरी छलफल भइरहेको अधिकारीको कथन छ।

कस्तो छ तयारी?

नेपाली चलचित्रको लगानीकर्ताहरूको छाता सङ्गठन चलचित्र निर्माता सङ्घ र सिनेमाघरहरूको सङ्गठन चलचित्र सङ्घको सहकार्यमा सिनेमाघर पुनः सञ्चालनमा आएको हो। दुई वटा सङ्घले संयुक्त समिति गठन गरी समस्या पहिचान, समाधानको उपाय खोजी र चलचित्र विकास बोर्डसँग समन्वय गरिरहेको छ।

चलचित्र सङ्घका अध्यक्ष मधुसूदन प्रधानका अनुसार महामारी जारी भए पनि पर्याप्त सुरक्षा मापदण्ड अपनाउने तयारीसहित हल सञ्चालनमा ल्याउने निर्णय भएको हो।

“न्यूरोडमा भिड छ। रेस्टुरेन्टहरू खचाखच छन्। सार्वजनिक सवारी साधन भरिभराउ देखिन्छन्। त्यसैले सिनेमाघरबाट मात्र कोरोनाभाइरसको सङ्क्रमण फैलन्छ भन्नु तर्क सङ्गत छैन। हामीले सुरक्षा मापदण्ड पालन गरेर फिल्म देखाउन लागेका हौँ,” प्रधानले बताए।

सिनेमा घरहरू दैनिक 'डिस्इन्फेक्ट' गरिन्छ। त्यस्तै दर्शकहरूको शरीरको तापक्रम जाँच, मास्क तथा स्यानिटाइजरलाई अनिवार्य बनाइएको बताइएको छ। अनलाइन टिकट खरिद् बढेकाले पैसामार्फत् हुने सङ्क्रमणको जोखिम कम भएको प्रधानको दाबी छ।

त्यस्तै हल सञ्चालक र फिल्म निर्माताबीच मुनाफा बाँडफाँडमा पनि सहमति भएको छ। कर तिरेर बाँकी भएको सङ्कलनमध्ये ५५ प्रतिशत फिल्म निर्माताले पाउनेछन् भने बाँकी हल सञ्चालकको हुनेछ। त्यस्तै हलमा ट्रेलर वा टिजर देखाए बापत हल सञ्चालकले निर्मातासँग शुल्क लिने छैनन्।

निर्माताहरू बीचसमेत फिल्म एकै मितिमा प्रदर्शन गरेर नजुधाउने सहमति भएको छ। “हामीले जुधेर होइन जुटेर अघि बढ्नु पर्ने अवस्था छ। प्रतिस्पर्धा भए पनि स्वस्थ होस्। चलचित्र क्षेत्रलाई पुरानै लयमा फर्काउने यही एउटा उपाय छ,” निर्माता सङ्घका अध्यक्ष अधिकारीले भने।

हल त खुले तर दर्शक खोइ?

क्यूज सिनेमाका सञ्चालक सुमित मैनालीका अनुसार बिहीवार ‘फास्ट एन्ड फ्यूरियस ९’ प्रदर्शन घोषणा गरिए पनि दर्शकको उपस्थिति उत्साहजनक छैन।

“विदेशमा डेढ महिनाअघि चलिसकेको सिनेमा नेपालमा बल्ल ल्याउनुका कारण दर्शकमा उत्साह नभएकाले नै हो। दर्शकको शून्य उपस्थितिमा हल सञ्चालन गर्नु भनेको एउटै पर्दामा दैनिक ५० हजार घाटा व्यहोर्नु हो,” मैनालीले भने।

एसी, बत्ती, पर्दा आदीमा बिजुलीको खर्च, सुरक्षाकर्मीदेखि सफाइ कर्मचारीको खर्च, सरसफाइ आदिका लागि हुने खर्चले हल सञ्चालकहरू मारमा पर्ने बताए।

“चलचित्र क्षेत्रलाई राहत दिने भनिए पनि जति सहुलियत घोषणा भए ती चलचित्र निर्माता केन्द्रित छन्। सरकारी योजनाहरूमा हल व्यवसायी परेकै छैनौँ। सरकार वा बोर्डको तर्फबाट केही नहुने देखेपछि केही सिनेमा घर त बन्द समेत भएका छन्। यस्तै तरिकाले हाम्रो पनि त्यही दिन नआउला भन्न सकिँदैन,” उनी केही निराश सुनिए।

महामारी यता काठमाण्डूका पुराना एवं चर्चित सिनेमाघरहरू जय नेपाल र कुमारी सधैँका लागि बन्द भए। गोपीकृष्ण सिनेमाघर पनि भत्काएर पुनः निर्माणको काम अघि बढिरहेको छ। चलचित्र सङ्घका अध्यक्ष प्रधानका अनुसार कोभिड-१९ प्रभावका कारण काठमाडौँ भित्र र मोफसलका गरी करिब २० वटा सिनेमाघरहरू बन्द भएका छन्।

“सिनेमाघर बन्द गरेकोबारे सबैबाट आधिकारिक पत्र आइसकेको छैन। यसबारे पनि यकिन तथ्याङ्क सङ्कलन गर्दैछौँ,” उनले भने। क्यूएफएक्सले पनि काठमाण्डू उपत्यकाका तीन वटा हल मात्र सञ्चालनमा ल्याएको छ। मोफसलका चेनहरू भने अझै बन्द नै छन्।

“पहिलो दिन सिभिल मल, लाबिम मल र छायाँ सेन्टरका सबै हलहरूमा क्षमताको २० प्रतिशत दर्शक आएका छन्। विस्तारै बढ्दै जान्छ भन्ने आशा छ। नेपाली फिल्मसमेत प्रदर्शनमा आयो भने दर्शक आकर्षित हुन सक्छन्,” क्यूएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले बताए।

महामारीको जोखिम कायम रहेका कारण दर्शक बन्द सिनेमाघरहरूमा आउन डराएको हुनसक्ने अनुमान उनले गरे। त्यस्तै महामारी यता ओटीटी प्ल्याटफर्महरू चलचित्र हेर्ने सशक्त माध्यम बनेकाले सिनेमाघरमा दर्शकको उपस्थिति पातलो रहेको हल सञ्चालकहरूको अनुमान छ।

राष्ट्र बैंकले पाँच सय डलरसम्मको डलर अकाउन्ट बनाउने प्रावधान खुला गरेदेखि नेपालबाट नेटफ्लिक्स, एमजनजस्ता डिजिटल प्ल्याटफर्मको सब्सक्रिप्सन लिन सहज बनेको छ। त्यसअघि नेपाली कार्डबाट अन्तर्राष्ट्रिय प्ल्याटफर्म पैसा तिर्न मिल्ने व्यवस्था थिएन।

अनलाइनमा समय बिताउने पुस्ताका लागि जारी लकडाउनबीच राष्ट्र बैङ्कले ल्याएको नीति आकर्षक सुविधा बनेर घरमै आफूले चाहेको सिनेमा हेर्न पाउने भएकाले पनि दर्शक कम भएको अनुमान गरिएको छ। दर्शकहरू भने जीवनलाई लिएर जोखिम मोल्न नमिल्ने बताउँछन्।

निर्मल घिमिरेले बीबीसीलाई प्रतिक्रिया जनाउँदै लेखेका छन्,”बाँचे हरिया बुटा देखिन्छ। पहिला जीवन बचाऔँ त्यसपछि मनोरञ्जन गरम्। ख्यालख्यालको मनोरञ्जनमा साँच्चिकैको जीवन नडुबाऔँ। व्यवसाय त खुल्छ्न् खुल्दैनन् केही भएन। आफू सजग हुनुपर्‍यो।”

त्यस्तै कमान सिंह पाख्रिनले लेखेका छन्,”स्वास्थ्य मापदण्ड सरकारको नेतृत्व गरिरहेको राजनीतिक दलले पालना गरेको छैन। सांसदहरू मर्यादा पालकको टाउकोमाथि चढेर नारा लगाइरहेका छन्। पार्टीहरूले जताततै कार्यक्रम नै कार्यक्रम गरिरहेका छन्। अनि महामारी सिनेमा हललाई मात्रै लाग्ने हो र? खुलाएर राम्रो गर्‍यो।”बीबीसी नेपालीबाट

सिनेमा रंगिन संसार

प्रकाशित: २२ असोज २०७८ ०७:२५ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी